कर्णालीकाे मुख्यमन्त्रीमा माओवादीका शर्मा नियुक्त, एमाले र माओवादीबीच आलोपालो सरकार चलाउने सहमति

कर्णालीकाे मुख्यमन्त्रीमा माओवादीका शर्मा नियुक्त, एमाले र माओवादीबीच आलोपालो सरकार चलाउने सहमति

सुर्खेतः कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन्। प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीका लागि दाबी गर्न दलहरुलाई आव्हान गरेका थिए। सोही वमोजिम नेकपा एमाले, राप्रपा र नेकपा एकीकृत समाजवादी सहितको समर्थनमा शर्माले मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्।

कर्णाली प्रदेशमा माओवादी र एमालेबीच आलोपालोको सहमति भएको छ। यसअघि केन्द्रमा रहेको सात दलीय गठबन्धनले कर्णाली सरकारको नेतृत्व गर्न एकलौटी माओवादीलाई दिने सहमति गरेपनि मुख्यमन्त्रीमा दाबी पेस गर्नुको केही समय अगाडी मात्रै नेकपा माओवादी र नेकपा एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको हो।

जस अनुसार पहिलो चरणमा कर्णालीमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा साढे दुई र त्यसपछिको दोस्रो चरणमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले नेतृत्व गर्नेछन्।

कर्णालीकोे सापेक्षतालाई लिएर चार दलबीच सहमति गरेर प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए ।

यसैगरी ८ मन्त्रालय रहेको कर्णालीमा गठबन्धनका प्रमुख दल एमाले र माओवादीबीच मन्त्रालय कटौतीको सहमति बनेको छ। आलोपालोको सहमतिसँगै ७ वटा मात्रै मन्त्रालय रहने निर्णय गरिएको छ। माओवादी केन्द्र र एमालेबाट तीन–तीन जना मन्त्री पठाउने सहमति भएको छ।

४० सदस्यीय रहेको कर्णाली प्रदेश सभामा माओवादीका १३, एमालेका १०, राप्रपा र समाजवादीका एक-एक सांसद गरी उनलाई २५ जनाको समर्थन। यस्तै कांग्रेसका १४ जना र स्वतन्त्रबाट एक जना सांसद छन्।

पुष २७, २०७९ बुधबार १७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।