लुम्बिनीले जित्याे पहिलाे संस्करणकाे नेपाल टी-ट्वान्टी लिगको उपाधिसँगै ५५ लाख नगद पुरस्कार

लुम्बिनीले जित्याे पहिलाे संस्करणकाे नेपाल टी-ट्वान्टी लिगको उपाधिसँगै ५५ लाख नगद पुरस्कार

काठमाडाैंः लुम्बिनी अल स्टार्सले पहिलाे संस्करणकाे नेपाल टी-ट्वान्टी लिगको उपाधि जितेको छ। फाइनलमा विराटनगर सुपर किंग्सलाई २४ रनले हराउँदै लुम्बिनीले उपाधि उचालेकाे हाे।

फाइनल खेलमा जितको लागि १३४ रनको सहज विजय लक्ष्य पछ्याएको विराटनगर २० ओभरमा ८ विकेट गुमाउँदै १०८ रनमै समेटिए पछि लुम्बिनीकाे जित पक्का भयाे। विराटनगरका लागि ओपनर अर्जुन साउदले ४० बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३४ रन बनाए। 

पृथु बाँस्कोटाले पनि ३१ रनकाे याेगदान गरे। तर अन्य खेलाडी टिक्न सकेनन्। विराटनगरकाे इनिङ सस्तैमा समेट्न लुम्बिनीका लागि भने सागर ढकाल र हरमीत सिंहले दुई-दुई विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ राजेको लुम्बिनी अलस्टारले १९.२ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएकाे थिए।

लुम्बिनीका लागि लाहिरु मिलान्थाले सर्वाधिक ४१ रन बनाए। २८ बलको सामना गरेका उनले ३ चौका र ३ छक्का प्रहार गरे।

त्यसैगरी, हरमीत सिंहले ३० रन जोड्दा दीपेन्द्रसिंह ऐरीले २० र इशान पाण्डेले १८ रन बनाएका थिए। बलिङतर्फ राज नन्नन र नन्दन यादवले समान दुई-दुई विकेट लिए।

उपाधिसँगै लुम्बिनीले ५५ लाख नगद पुरस्कार पाउँदा उपविजेता विराटनगरले ३० लाख रुपैयाँ प्राप्त गरेकाे छ।

पुष २७, २०७९ बुधबार १५:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।