को हुन् लुम्बिनी प्रदेशका नयाँ मुख्यमन्त्री लीला गिरी?

को हुन् लुम्बिनी प्रदेशका नयाँ मुख्यमन्त्री लीला गिरी?

बुटवलः गुल्मीको रुरु गाउँपालिका–५, बम्घा सौरिवोटमा वि.सं. २०११ साल चैत १४ मा जन्मिएका गिरी २०३४ सालमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ शंकरनगरमा बसाइ सरेका थिए। उनकाे जन्म सामान्य किसान परिवारमा भएकाे थियाे।

बुवा स्व.मुक्तिनाथ गिरी र आमा केशवकुमारी गिरीको जेष्ठ सुपुत्रको रुपमा जन्मिएका गिरीका धर्मपत्नी इन्दिरा गिरी, एक छोरा, दुई छोरी छन्। तीन दाजुभाइ र दुई बहिनीमा उनी सबैभन्दा जेठो सन्तान हुन्।
 
बाल्यकालदेखिकै राजनीतिक जागरण 

वि.सं. २०२२ सालमा गुल्मी जिल्लामा तत्कालीन विभेदयुक्त सामाजिक व्यवस्थाका विरुद्धको आन्दोलनबाट प्रभावित भएर कम्युनिष्ट (वाम) आन्दोलनमा लागेका गिरीमा १२ वर्षको उमेर देखिनै राजनीतिक जागरण आएको थियो।

माध्यमिक स्तरको शिक्षा आर्जन गर्ने वेलादेखि त्यहाँका प्रधानाध्यापक, स्व. सिद्धिनाथ ज्ञवालीको नेतृत्वमा तत्कालीन पञ्चायतविरुद्धको आन्दोलनमा गिरी बाल्यकालमै सरिक भएका थिए।

तत्कालिन समाजको थिचोमिचो, अन्याय र विभेदको अन्त्य हुनुपर्छ र समतामूलक समाज निर्माण हुनुपर्छ भन्ने चेतना र भावना उनमा बाल्यकालदेखि नै थियो।

 

औपचारिक राजनीतिक यात्रा

गुल्मीबाट रुपन्देहीमा बसाइ सरेपछि वामपन्थी नेताहरूसँग उनकाे सम्बन्ध जोडियो। ०३६ सालको विद्यार्थी आन्दोलन र ०३७ सालको मजदुर आन्दोलनमा उनी सरिक थिए। यसपछि ०३९ सालमा क्रान्तिकारी बुद्धिजीवी संघमा आवद्ध हुँदै उनी राजनीतिक कमिटीकाे औपचारिक नेतृत्वमा सामेल भए।

बीए सम्मको अध्ययन गरेका उनले केही समय गुल्मी र रुपन्देहीमा रहेर शिक्षक भएर पनि काम गरे। नेपाल राष्ट्रिय शिक्षक संगठन रुपन्देहीको आन्दोलनमा सहभागी हुँदै ०३८ सालमा अखिल नेपाल किसान संगठनको इलाका अध्यक्ष भएपछि उनले भूमिगत कम्युनिष्ट पार्टी (नेकपा माले) मा सक्रिय सदस्य भएर काम गर्न थालेका थिए।

०४५/४६ सालको पञ्चायत विरोधी आन्दोलनताका उनले नेकपा मालेको जिल्ला कमिटी सदस्यको हैसियतले जिल्ला वाममोर्चाको नेतृत्व गरेका थिए। वि.सं. ०४७ सालमा पार्टी एकीकरण भएपछि नेकपा एमालेको जिल्ला कमिटी सदस्य भएका गिरी जिल्ला पार्टीको उपसचिव, सचिव र अध्यक्ष भएका थिए।

यसपछि उनी अञ्चल कमिटी हुँदै नवौं राष्ट्रिय महाधिवेशनदेखि पार्टीको केन्द्रीय सदस्य र रुपन्देही जिल्ला कमिटीको इन्चार्ज, नेकपा लुम्बिनी प्रदेश कमिटी अध्यक्ष र केन्द्रीय सदस्य बनेका थिए।

चितवनमा सम्पन्न भएको पार्टीको दशौं महाधिवेशनदेखि नेता गिरीले पोलिटब्यूरो सदस्य र लुम्बिनी प्रदेश कमिटीको सहइन्चार्ज भएर जिम्मेवारी पूरा गर्दै आएका छन्।

राजनीतिक आन्दोलनको नेतृत्व

गिरी वि.सं. २०४६ सालको पञ्चायत विरोधी आन्दोलनमा संयुक्त वाममोर्चाको जिल्ला सदस्यको रुपमा र २०६१ सालमा रुपन्देही पार्टी जिल्ला प्रमुखको रुपमा शाही ‘कु’ को विरुद्धको आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका थिए। शाही ‘कु का विरुद्धको आन्दोलनमा लागेको भन्दै उनले तीन महिना जेल सजाय पनि भाेगे।

०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा उनले रुपन्देहीमा रहेर कमाण्ड सम्हालेका थिए। ०३५/३६ ताका नेपाल राष्ट्रिय शिक्षक संगठनको आन्दोलनमा सक्रिय रुपमा सहभागी हँदा उनलाई तत्कालीन प्रशासनले वारेन्टको सूचिमा राखेको थियो। 

नयाँ व्यवस्था बहालीका लागि विभिन्न समयका आन्दोलनमा भूमिगत रहेर पनि उनी सक्रिय थिए। उनले अविच्छिन्न रुपमा पार्टी राजनीतिमा सक्रिय हुँदै प्रतिकूल अवस्थामा पनि कुशलतापूर्वक कार्यभार सम्हालेका थिए। यही विशेषताका कारण उनी अहिले मुख्यमन्त्रीको कुर्सीसम्म पुग्न सफल भए।

पुष २७, २०७९ बुधबार १५:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।