लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त
बुटवलः लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले नेता गिरीलाई बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
गिरी लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन्। गिरीलाई ७ दल र २ स्वतन्त्रसहित ५८ सांसदको समर्थन छ। संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गरेका गिरीलाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
गिरीले ८७ सदस्यीय प्रदेशसभामा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ४, नागरिक उन्मुक्ति पार्टीका ४, जनता समाजवादी पार्टी (जसपा) का ३, जनमत पार्टीका ३, लोसपाका ३ र स्वतन्त्रका २ गरि ५८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
लुम्बिनीमा बहुमतको लागि ४४ सांसदकाे समर्थन आवश्यक पर्छ। लुम्बिनीमा एमाले र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ।
पुष २७, २०७९ बुधबार १५:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।