इन्भेष्टमेन्ट-मेगाको एकीकृत कारोबार सुरु, सम्पत्ति ४ खर्ब ७१ अर्ब

इन्भेष्टमेन्ट-मेगाको एकीकृत कारोबार सुरु, सम्पत्ति ४ खर्ब ७१ अर्ब

काठमाडौँ : नेपाल इन्भेस्टमेन्ट र मेगा बैङ्कबिच मर्जर भएर बनेको  नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले  बुधबारबाट एकीकृत कारोबार सुरु गरेको छ।

एकीकृत बैङ्कको सञ्चालक समितिले अध्यक्षमा पृथ्वीबहादुर पाँडे सर्वसम्मत चुनेको छ। बुधवार बिहान बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा पाँडेलाई चयन गरेको हो।

मर्जरपश्चात् बैङ्कको कुल सम्पत्ति ४ खर्ब ७१ अर्ब, कुल पुँजी ५८ अर्ब, कुल निक्षेप ३ खर्ब ६० अर्ब, कुल कर्जा ३ खर्ब २९ अर्ब रहेको छ।

एकीकृत कारोबारसँगै २९६ वटा शाखा रहने बैङ्कको एक्सटेन्सन काउन्टर ५९ वटा रहेका छन्। २७९ वटा एटिएम रहेको बैङ्कले ३० लाख ग्राहकलाई सेवा दिने जनाएको छ। इन्भेस्टमेन्ट र मेगा बैङ्क १००:९० अनुपातमा मर्ज भएका हुन्।

इन्भेस्टमेन्ट र मेगा बैङ्कबिच मङ्सिर १३ गते एक आपसमा  गाभिन सम्झौता भएको थियो। एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा अध्यक्ष पाँडेले इन्भेस्टमेन्ट बैङ्कको ३६ वर्ष र मेगा बैङ्कको १२ वर्षको अनुभव एकीकृत भएको बताएका थिए। उनले राष्ट्रिय एकता दिवसकै दिन एकता हुन पाउँदा खुसी लागेको बताए।

मेगा बैंकका तत्कालिन अध्यक्ष भोजबहादुर शाहले एकिकृत कारोबार शुरु हुनु नेपालको वित्तिय क्षेत्रका लागि सुखद हुने बताएका थिए। 

पुष २७, २०७९ बुधबार १४:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।