लिला गिरी लुम्बिनीकाे मुख्यमन्त्री बन्दै, १२ बजे दाबी पेश गर्ने
बुटवल : लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन दलहरूले बुधबार सरकार गठनको दाबी पेश गर्दैछन्।
एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले अहिले दिउँसो १२ बजे प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्दैछन्।
माओवादी केन्द्र, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदसहित ५५ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने एमाले सांसद भुमिश्वर ढकालले जानकारी दिए।
दलहरूले हिजो नै मुख्यमन्त्रीमा दावी पेश गर्ने बताए पनि अन्तिम समयमा माओवादीले लुम्बिनी प्रदेशमा आधा–आधा कार्यकाल सरकारको नेतृत्वको गर्ने अडान राखेपछि रोकिएको थियो।
प्रदेश प्रमुख अमिक शेरचनले आज अपरान्ह ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएका छन्।
लुम्बिनीमा ८७ जना प्रदेश सांसद् छन्। जसमा सरकार गठनका लागि ४४ जना सांसद् आवश्यक छ।
सत्तासाझेदार दलसँग एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, नागरिक उन्मिक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ र स्वतन्त्र २ सांसद गरी सरकारमा ५५ जना सरकारमा सहभागी हुने तयारी छ।
गिरी लुम्बनीको तेस्रो मुख्यमन्त्री बन्न लागेका हुन्।
पुष २७, २०७९ बुधबार ११:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।