पाकिस्तानका गृहमन्त्रीमाथि जुत्ता प्रहार

पाकिस्तानका गृहमन्त्रीमाथि जुत्ता प्रहार

एजेन्सी : पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमा मंगलबार पञ्जाब विधानसभा बाहिर जुत्ता प्रहार भएको छ।

सनाउल्लाह पञ्जाब विधानसभाबाट निस्कँदै गर्दा उनीमाथि अज्ञात व्यक्तिबाट जुत्ता प्रहार भएकाे जियाेन्यूजले जनाएकाे छ।

यसैबीच कसैले गाडीतर्फ जुत्ता हानेपछि सनाउल्लाहका चालकले गाडी केही बेर रोकेका थिए। यसअघि मंगलबार सनाउल्लाह र प्रधानमन्त्री शाहबाज सरिफका विशेष सहयोगी अताउल्लाह तरारलाई पञ्जाब विधानसभामा प्रवेश गर्नबाट रोकिएको थियो।

पञ्जाबमा पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)को सरकार छ। तर, पीएमएल–एनले यहाँ मुख्यमन्त्री बनाउन खोजिरहेको छ।

पत्रकार सम्मेलनमा सनाउल्लाहले सुरक्षा निकायले पीएमएल–एनका नेताहरूलाई सभामा जानबाट रोकेको स्वीकार गरेपनि जुत्ता प्रहारबारे समाचारबाटै थाहा भएकाे जनाएकाे छ।

पञ्जाबका मुख्यमन्त्री परवेज इलाहीको विश्वासको मतलाई लिएर पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र पञ्जाबको गठबन्धन सरकारबीच विगत केही दिनदेखि विवाद चलिरहेको छ।

यही कारणले गर्दा राणा सनाउल्लाह सभाको बैठकमा नेताहरूलाई भेट्न आएका थिए।

पुष २७, २०७९ बुधबार १०:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।