'नाटु-नाटु' गीतलाई अमेरिकामा उत्कृष्ट मौलिक गीतको अवार्ड
एजेन्सी : एसएस राजामौलीको फिल्म ‘आरआरआर’को ‘नाटु नाटु’ गीतले अमेरिकामा जारी गोल्डेन ग्लोब अवार्डमा उत्कृष्ट मौलिक गीतको अवार्ड जितेको छ।
मंगलबार भएको अवार्ड कार्यक्रममा गीतको उक्त अवार्ड जितेको हो। ओस्कर दौडमा सामेल ‘आरआरआर’को यो गीत उत्कृष्ट मौलिक गीतको विधामा पनि मनोनयनमा समेत परेको छ। आरआरआर बाहेक ‘चेल्लो शो’ नामक फिल्मसमेत उत्कृष्ट अन्तर्राष्ट्रिय विधामा छनोट भएको छ।
राजामौली उक्त अवार्डमा अभिनेताद्वय रामचरण तेज र जुनियर एनटीआरसँग पुगेका थिए। दक्षिण भारतीय सुपरस्टार चिरञ्जीवीले आरआरआरको यो उपलब्धिलाई ऐतिहासिक भनेका छन्।
संगीतकार एमएम कीरावानीले अवार्ड ग्रहण गरे। राजामौली र कलाकारलाई धन्यवाद दिँदै उनी भावुक भए।
आरआरआर पनि गोल्डेन ग्लोबमा उत्कृष्ट विदेशी भाषा फिल्मको विधामा मनोनित भएको थियो। तर, यो अवार्ड भने अर्जेन्टिनाले हात पार्यो। यस विधामा आरआरआरसँगै दक्षिण कोरिया, जर्मनी र अर्जेन्टिनाका फिल्म प्रतिस्पर्धामा थिए।
पुष २७, २०७९ बुधबार ०९:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।