नियमित कामलाई उपलब्धी देखाउँदै ४३५औं दिनमा सरकारबाट बिदा भए मुख्यमन्त्री शाही
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नियुक्तिको ४३५औं दिनमा आफ्ना उपलब्धी सार्वजनिक गरेका छन्।
२०७८ कात्तिक १६ गते मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका शाहीले अवरुद्ध विकास पूर्वाधारहरूको निर्माण, सुशासन, कानून निर्माण र स्थानीय तहसँगको समन्वयजस्ता नियमित कामलाई आफ्ना उपल्बधीकाे सूचीमा राखेर सरकारबाट बिदा भएका छन्।
१२ वटा विधेयक तर्जुमा गरी प्रदेश सभामा प्रस्तुत गरेको र पहिले पेश भएकासमेत गरी १७ वटा विधेयक प्रदेश सभाबाट पारित भएकोलाई उनले आफ्नो उपलब्धीमा समावेश गरेका छन्।
खाद्य अधिकार तथा सम्प्रभुता नियमावलीसहित चारवटा नियमावलीमा समसामयिक संशोधन र ३२ वटा नीति/कार्यविधि/मापदण्ड/निर्देशिका तर्जुमा भएका, प्रदेश मन्त्रिपरिषद्को बैठकलाई प्रत्येक हप्ताको बुधबार दिनको ठिक ४ः०० बजे बस्ने गरी व्यवस्थित गरिएको दाबीसमेत उनले गरे।
मुख्यमन्त्री शाहीले हालसम्म स्थानीय तह र प्रदेशका ५९० रिक्त पदमा विभिन्न तहका कर्मचारीहरू नियुक्तिका लागि सिफारिस गरेको, अधिकृत तहका कर्मचारीको छनोटका लागि विज्ञापन गरी आवश्यक प्रक्रिया अगाडि बढाइएको, आगामी दिनमा जनशक्तिको अभावका कारण काम भएन भन्ने समस्याको अन्त्य हुने र प्रदेशमा स्वास्थ्य सेवालाई प्रभावकारी, सरल, सहज, सुलभ र गुणस्तरीय बनाउन प्रदेश स्वास्थ्य सेवा ऐन कार्यान्वयनमा ल्याइएको दाबी गरे।
यस्तै, हालसम्म एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि अन्तर्गत ३९४ जना विद्यार्थीहरूलाई छोरी–बुहारी, उच्च शिक्षा जेहेन्दार, उच्च शिक्षा अपाङ, उच्च शिक्षा दलित, द्वन्द्वपीडित, शहिद सन्तति छात्रवृत्ति सरकारले उपलब्ध गराइएकोलाई उनले आफ्नो उपलब्धीमा समावेश गरेका छन्।
एक विद्यालय एक स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन कार्यविधि अन्र्तगत १०० सामुदायिक विद्यालयमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ। देशको ठूलो खेलकुद प्रतियोगिता दशौं राष्ट्रिय खेलकुदलाई कर्णाली आयोजना गर्नका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिइएको मुख्यमन्त्री शाहीले बताए।
‘दशौं राष्ट्रिय खेलकुद कर्णालीमा गर्नका लागि प्रदेश गौरवको आयोजनाका रुपमा प्रदेश रंगशाला निर्माण भइरहेको छ, रंगशाला शिलान्यासदेखि ३४ पटकसम्म म स्वयम् स्थलगत अनुगमनमा गएको छु,’ उनले भने, ‘नेपालमै पहिलो पटक भलिबलको कबर्डहल निर्माण भइरहेको छ। प्रदेश रंगशालाको भौतिक पूर्वाधारको ३३ प्रतिशत काम सम्पन्न भएको छ भने समग्रमा ५० प्रतिशत काम सम्पन्न भएको छ। अन्य जिल्लाहरूमा पनि खेलकुद पूर्वाधार निर्माण धमाधम भइरहेका छन्।’
त्यसैगरी मुख्यमन्त्री शाहीले ५९२ वटा साना सिंचाइ योजनाको निर्माण तथा मर्मतबाट करिब ३५० हेक्टर जग्गामा थप सिंचाई सुविधा विस्तार भएको बताए। कृषि व्यवसायीकरण र आधुनिकीकरणमार्फत रोजगारी सृर्जना गर्ने उद्देश्यले सञ्चालित ब्याज अनुदान कार्यक्रमबाट १ हजार २२७ जनाले कर्जा सुविधा प्राप्त गरेका उनले बताए।
पुष २६, २०७९ मंगलबार २२:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।