घरजम भएपछि प्रेम टुट्यो, डिभोर्स भएपछि माया पलाएकाे जस्तो भयो : कांग्रेस महामन्त्री शर्मा
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको परिस्थिति अन्यभन्दा फरक भएको बताएका छन्।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिलेको परिस्थिति विल्कुलै फरक रहेको बताए।
आफूहरूको असहमतिको बावजुद पार्टीले निर्णय गरेपछि प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपरेको उनले बताए।
‘फरक विचारहरूबाट एउटा निर्णय भयो। विचारमा फरक भए पनि पार्टीले निर्णय गरेपछि हामीले पालना गर्यौं,’ उनले भने, ‘फरक उभिनुपर्छ भन्ने धारणाका बावजुद हामीले पार्टीको निर्णय पालना गर्नुपर्थ्याे, जुन हामीले गर्याैं।’
यस्तै महामन्त्री शर्माले प्रधानमन्त्री दाहाललाई भागेर विवाह गरेकाे घरकाे सदस्यसँग तुलनासमेत गरे।
‘कुनै जोडीले भागेर विवाह गरेपछि, परिवारका सदस्यमा फरक विचार आउँदो रहेछ। कोही बोलाएर टीकाटालो गर्नुपर्छ भन्दा रहेछन् काेही पर्दैन भन्दारैछन्,’ उनले थपे, ‘अहिलको परिस्थितिमा हामीले बोलाएर टीकाटालो गर्यौं।’
यस्तै उनले अहिलेको अवस्था भनेको घरजम भएपछि प्रेम टुटेको र डिभोर्स भएपछि माया पलाएकाे जस्ताे भएकोसमेत बताए।
उनले भने, ‘अहिलेको परिस्थिति भनेको घरजम भएपछि प्रेम टुट्यो र डिभोर्स भएपछि माया बस्यो भनेको जस्तो भयो।’
महामन्त्री शर्माले आफूहरुले विश्वासको मत दिए पनि प्रतिपक्षमा बस्ने बताए।
पुष २६, २०७९ मंगलबार १७:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।