तयारी नपुगेको भन्दै लुम्बिनीको मुख्यमन्त्रीमा एमालेले दाबी पेश गरेन
बुटवल : अन्ततः तयारी नपुगेको भन्दै मंगलबार (आज) सत्ता साझेदार दलले लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीको दावी पेश नगर्ने भएको छ।
सोमबार सत्तारुढ दलहरूबीच सहमति भएसँगै पौने ३ बजे एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिला गिरीले सरकारको नेतृत्वमा दाबी पेश गर्ने भनिएको थियो।
तर, साना दलहरूलाई पनि सहकार्य गर्न आग्रह गरिएको र कतिपय ठूला दलहरूको समेत तयारी नपुगेकाले दाबी पेश नगरिएको माओवादी केन्द्रका नेता तुलाराम घर्तीले जानकारी दिए।
प्रदेश प्रमुख शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका छन्।
सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार लुम्बिनी प्रदेशको नेतृत्व पाँच वर्ष नै नेकपा एमालेले लिने भनिए पनि यो सहमति विपरित लुम्बिनीमा माओवादीको असन्तुष्टि रहेको थियो।
जसकारण माओवादी संसदीय दलका नेता जोखबहादुर महरा एमालेलाई पाँच वर्ष पूरा कार्यकाल मुख्यमन्त्री दिन नहुने भन्दै आधा–आधा कार्यकाल मुख्यमन्त्रीको नेतृत्व गर्न पाउने माग पार्टी नेतृत्वसँग गर्दै आएका थिए।
माओवादी नेता घर्तीले लुम्बिनीमा पाँच वर्ष मुख्यमन्त्रीमा एमालेले नेतृत्व नगर्ने र पछिल्लो सहमतिअनुसार आधा–आधा कार्यकाल दुवै दलले गर्ने सहमति भएको बताए।
योसँगै अब लुम्बिनीमा पनि एमाले र माओवादी दुवैले साढे २, साढे २ वर्ष सरकारको नेतृत्व गर्नेछन्। ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तिमा ४४ सांसदको समर्थन चाहिन्छ।
सत्ता साझेदार दलहरूमध्ये सबैभन्दा धेरै एमालेका २९ सांसद् छन्। यसैगरी माओवादी केन्द्रका १०, राप्रपाका ४ तथा जसपा र जनमत पार्टीका ३र३ जना सांसद छन्।
यसैगरी कांग्रेसका २७, लोसपाका ३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ तथा स्वतन्त्रबाट निर्वाचित २ सांसद् छन्।
पुष २६, २०७९ मंगलबार १६:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।