फाइनल पुग्यो विराटनगर, उपाधिका लागि लुम्बिनीसँग भिड्ने
काठमाडौं : नेपाल टी–२० को उपाधिका लागि विराटनगर सुपरकिंग्स र लुम्बिनी अलस्टार्स भिड्ने भएका छन्।
मंगलबार भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले पराजित गर्दै विराटनगरले लुम्बिनीसँगको भेट तय गरेको हो।
१६७ रनको लक्ष्य पछ्याएको जनकपुर ५ बल बाँकी छँदै अलआउट भएर १२८ रनमा समेटियो। उसका लागि चडविक वाल्टनले ५१, ट्रेफोन ग्रिफिप्थले ३४, खडक बोहराले १४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ कियोन जोसेफले तीन, राज नन्नन र नन्दन यादवले दुई–दुई तथा सूर्य तामाङ र हुसेन तलटले समान एक–एक विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनायो। उसका लागि गौरान्शु शर्माले ४२, अर्जुन साउदले ३५, राज नन्ननले ३३ र हुसैन तलटले ३१ रन बनाए।
जनकपुरका जितेन्द्र मुखियाले दुई विकेट लिँदा शराफुद्दीन अशरफ, ललित राजवंशी र समिउल्लाह सिन्वारीले एक–एक विकेट लिए।
यसअघि पहिलो क्वालिफायरमा जनकपुरलाई पराजित गर्दै लुम्बिनी फाइनलमा प्रवेश गरेको थियो। त्यसअघि सोमबार भएको इलिमिनेटरमा विराटनगरले काठमाडौं नाइट्सलाई पराजित गरेर दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो।
उपाधिका लागि बुधबार दिउँसो १२ बजे प्रतिस्पर्धा हुनेछ।
लिगको विजेताले ५५ लाख पाउने जनाएको छ। यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौथोले ५ लाख पाउने छ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन्। इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ।
पुष २६, २०७९ मंगलबार १६:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।