आज नेपालको संसदमा विचित्रको र डरलाग्दो दृश्य देखियो : चित्रबहादुर केसी
काठमाडौं : राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नेपालको संसदमा आज विचित्र दृश्य देखिएको बताए।
मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुअघि बोल्दै सांसद्समेत रहेका केसीले सबैजना सरकारलाई समर्थन गर्न लागेको देख्दा आफूलाई अचम्म लागेको बताए।
‘संसदीय व्यवस्थामा त प्रतिपक्ष हुन्छ। नेपालमा त आज त विचित्र भयो। भएभरका सबैजना सरकारलाई समर्थन गर्ने र सरकारमा सामेल हुने,’ उनले भने, ‘यो कुन किसिमको समर्थन हो मैले बुझ्नै सकेकै छैन।’
संसदमा बलियो प्रतिपक्ष नभए सरकार निरङ्कुश हुने भन्दै उनले सरकारमा गएर त्यहिभित्र माथापच्छी गर्ने अवस्था देखिएको बताए।
‘बलियो र शक्तिशाली प्रतिपक्षी नभए सरकार निरङ्कुश हुन्छ,’ उनले थपे, ‘सबै साथीहरूलाई सरकारमा सामेल गराएर विगतमा भएका आफ्ना कमीकमजोरीलाई ढाक्ने। त्यहि भित्र माथापच्छी गरेर आफू सरकारमा आउने चाल त होइन यो?’
आज सरकारमा देखिएको दृश्य डरलाग्दो भएको भन्दै उनले प्रधानमन्त्रीले गरेको प्रतिबद्धता पूरा हुनेमा आशंका व्यक्त गरे।
‘आज देखिएको दृश्य डरलाग्दो दृश्य हो। लाखौं नेपालीहरुको विदेशमा विजोग छ, भएका उद्योग कलकारखाना बेचिसक्यौं, सार्वजनिक सम्पत्ति निजीकरण गरिसक्यौं,’ उनले भने, ‘प्रधानमन्त्रीको कार्यक्रम असाध्यै कर्णप्रिय छन् तर कार्यान्वयन सम्भव छ भन्ने मलाई विश्वास लाग्दैन।’
पुष २६, २०७९ मंगलबार १६:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।