ओलीप्रति माधव नेपालकाे कटाक्ष- ‘अदालतले व्याख्या गरिसक्दा पनि अझै ठूलो स्वर?’
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद विघटन गर्न पाइन्छ भन्ने गठबन्धन दलको धारणा हाे भन्ने प्रश्न गरेका छन्।
मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिनुअघि संसदमा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री संविधानप्रति प्रतिबद्ध भए नभएको भन्ने ध्यान दिनुपर्ने बताए।
‘मैलै यही रोष्ट्रममा सुनेँ। संसद विघटन गर्न पाइन्छ। यो मान्यता गठबन्धन दलको हो? यो मान्यता हो भने त्यसले खतरनाक संकेत देखाउँछ। जसरी पहिले प्रतिनिधिसभालाई विघटन गरियो,’ उनले भने, ‘के यो ब्रिटेन हो? भारत हो? पुरानो नेपाल हो? यो गिरिजाप्रसाद कोइराला नेतृत्वको २०५१ को सरकार हो? यो २०८५ सालको देउवा सरकार हो?’
नेपालले प्रधानमन्त्रीलाई आफूखुसी संसद् विघटन गर्ने छुट नदिएको बताए। एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन प्रतिगमन नभएको भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए।
उनले भने, ‘प्रधानमन्त्रीलाई आफूखुसी संसद विघटन गर्ने अधिकार यो संविधानले दिएको छैन। सर्वोच्च अदालतले व्याख्या गरिसक्दा पनि अझै स्वर ठूलो हाम्रो? कतिपय देशहरुमा संविधानको व्याख्या गर्दा संविधान निर्माताहरुले के बोलेका छन् भन्ने कुराको पाना पल्ट्याइन्छ। संविधान बनाउँदा एकदम धेरै वहस भएको छ। राजनीतिक स्थायित्वका लागि पनि विकल्प हुन्जेलसम्म प्रतिनिसभा विघटन गर्न कसैको लहडको भरमा पाइँदैन।’
पुष २६, २०७९ मंगलबार १५:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।