प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव– ‘गफाडी संस्कारबाट बच्नुस्’
काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गफाडी संस्कारबाट बच्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिएका छन्।
मंगलबार प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनुअघि संसदमा बोल्दै अध्यक्ष नेपालले नेताहरू गफमा कम नभएको भन्दै जनताले आफूहरूलाई गफाडीका राजा भन्न थालिसकेको बताए।
‘हामी कुरामा गफमा कम छैनौं, गफाडीका राजा पनि हामीलाई भन्न सकिन्छ,’ उनले भने, ‘त्यस्ता गफाडी संस्कारलाई बोकेर अघि नबढ्नुहोला। प्रधानमन्त्रीज्यूको ध्यान म आकर्षण गर्न चाहन्छु।’
गफ र प्रतिबद्धता ठूलो गरेर आफैँ त्यस्ता गफको उत्प्रेरक र संरक्षक बन्ने गरेको भन्दै उनले भ्रष्टाचारमा संलग्न नहुने र संलग्नलाई दण्डित गर्न सकेमा धेरै कुरा गर्न सकिने उनले बताए।
प्रधानमन्त्रीको प्रतिबद्धता सुन्दा एकदम रमाइलो लागेको भन्दै पाँच हजार वर्ष पुरानो गौरवशाली इतिहास बोकेको देशको आफ्नै संस्कृति रहेको स्मरण गराए।
हिन्दु र बौद्ध धर्म उद्गम थलो नेपाल भएको भन्दै उनले सबै धर्म, संस्कृति र भाषाप्रति सम्मान गर्दै आफ्नो मौलिकतालाई पनि जोगाउन सक्नुपर्नेमा जोड दिए।
पुष २६, २०७९ मंगलबार १५:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।