गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले शुक्रबार विश्वासको मत लिने
पोखराः गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पुस २९ गते विश्वासका मत लिने भएका छन्। सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले आज बाेलाएकाे मन्त्रीपरिषदको बैठकले यही पुस २९ गते विश्वासको मत लिने निर्णय गरेको हो।
मुख्यमन्त्री अधिकारीले तत्काल विश्वासकाे मत लिएर मन्त्रीपरिषद विस्तार गर्न चाहेकाले पुस २९ गते विश्वासको मत लिने मन्त्रीपरिषदको बैठकले निर्णय गरेको गण्डकी प्रदेशका विनाविभागीय मन्त्री हरि बहादुर चुमानले जानकारी दिए।
उनले मुख्यमन्त्री अधिकारीले पहिले विश्वासको मत लिएपछि मात्र नागरिकलाई सेवा दिने कार्य थाल्ने अडान लिएकाले तत्कालै विश्वासको मत लिने निर्णय भएको बताए।
सोमबार मुख्यमन्त्री अधिकारीले प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष ३३ सांसदको समर्थन लिएर दाबी पेस गरेका थिए। ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ सदस्यकाे समर्थन आवश्यक पर्छ।
एमालेका २२, माओवादीका ८, राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)का २ र एकीकृत समाजवादीको १ सहित ३३ सांसदको समर्थनमा उनले दाबी पेस गरेका थिए। गण्डकीमा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसकाे २७ सिट छ।
पुष २६, २०७९ मंगलबार १५:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।