सेन्चुरी र प्रभु एक हुँदा निक्षेप पुग्यो २ खर्ब, मङ्गलवारबाट एकीकृत कारोबार सुरु

सेन्चुरी र प्रभु एक हुँदा निक्षेप पुग्यो २ खर्ब, मङ्गलवारबाट एकीकृत कारोबार सुरु

काठमाडौं :  सेन्चुरी कमर्सियल बैङ्क पुस २६ बाट प्रभु बैङ्क लिमिटेडमा समाहित भएको छ। कान्छो वाणिज्य बैङ्कको रूपमा परिचित सेन्चुरी प्रभुमा समाहित भएपछि मङ्गलवारबाट एकीकृत कारोबार सुरु गरेको छ।

सेन्चुरी १:१ स्वाप रेसियोमा प्रभुसँग समाहित भएको हो। दुबै बैङ्क एक भएपछि प्रभु बैङ्कको चुक्ता पुँजी २३ अर्ब रुपैयाँ पुगेको छ भने कुल सम्पत्ति तीन खर्ब ४० अर्ब पुगेको छ। कुल ऋण प्रवाह दुई खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ। 

कुल निक्षेप सङ्कलन दुई खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ  भने शाखा सङ्ख्या ३ सय ६५ पुगेको छ । सेन्चुरी कमर्सियल बैङ्कका शाखा कार्यालय १ सय ४८ थिए। प्रभु बैङ्कका २ सय १७। अब एटिएम सञ्जाल ३०९ पुगेको छ भने एक्सटेन्सन काउन्टर ७२ पुगेका छन्। दुबै बैङ्क एक हुँदा

ग्राहक सङ्ख्या ३० लाख नाघेको बैङ्कको दाबी छ।

प्रभु बैङ्कका पूर्व अध्यक्ष देवीप्रकाश भट्टचनले दुई बैङ्क एक भएसँगै अवसर र चुनौती थपिएको बताए। उनले मर्जर गर्न गरिएको लामो सङ्घर्ष सार्थक भएको भन्दै अब कुनै पनि बहाना गरेर छुटिने छुट नभएको बताए। 

'मर्जर भनेको विवाह जस्तै हो। विवाह गरेपछि कुनै कुरामा चित्त नबुझे छुटिन मिल्छ। तर, मर्जर भएपछि छुट्टिने कसैलाई पनि छुट छैन,' उनले भने, 'दुई बैङ्क एक भएपछि चुनौती थपिएको छ। तर, त्यसलाई सबैले मिलेर समाधान गर्नुपर्छ र देशकै एक नम्बर बैङ्कको रूपमा सबल सेवा दिनु पर्छ।'

सेन्चुरी कमर्सियल बैङ्कका अध्यक्ष राजेशकुमार श्रेष्ठले दुबै बैङ्कको मर्जरले देशको दिगो आर्थिक वृद्धिमा सहयोग पुग्ने बताए। 

'कुनै पनि आयोजना निर्माणका लागि स्रोत जुटाउन धेरै बैङ्क गुहार्नुपर्ने अवस्था हुन्थ्यो। अब यस्ता आयोजना एउटै बैङ्कको लगानीमा बनाउन सक्नेछन्,' उनले भने,'समयको मागसँगै हामी एक भएका हौँ। यसले देशको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।'

अनगिन्ती सम्भावनाहरूलाई सार्थकता प्रदान गर्दै सेन्चुरी कमर्सियल बैङ्कलाई प्रभुमा समाहित गरिएको प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनले बताए। 

सेन्चुरी कमर्सियल बैङ्कलाई प्राप्ति गरेपछि प्रभु बैङ्कको नयाँ सञ्चालक समितिमा सदस्यहरू लिलाप्रकाश सिटौँला, रमेशसिंह खड्का, मनबहादुर राई, सङ्करप्रसाद कालिकोटा, प्रा. डा. गीता प्रधान, रामेश्वर सापकोटा र अभिषेक बज्राचार्य भएका छन्।

बैङ्कको अध्यक्ष यी नै सदस्यहरूबाट छानिनेछ। मङ्गलवार एकीकृत कारोबार शुभारम्भ कार्यक्रमको अध्यक्षता लिलाप्रकाश सिटौलाले गरेका थिए।

पुष २६, २०७९ मंगलबार १४:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।