‘पृथ्वीनारायण शाह थिए र नेपालको प्रधानमन्त्री बन्नुभयो, राष्ट्रनिर्मातालाई सम्मान गर्दा हिनताबोध गर्नुपर्दैन’

‘पृथ्वीनारायण शाह थिए र नेपालको प्रधानमन्त्री बन्नुभयो, राष्ट्रनिर्मातालाई सम्मान गर्दा हिनताबोध गर्नुपर्दैन’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रनिर्मातालाई सम्मान गर्दा हिनताबोध नगर्न आग्रह गरेका छन्।

मंगलबार  संसदमा प्रधामन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिनुअघि बोल्दै अध्यक्ष लिङ्देनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्मान गरेर अघि बढ्दा हिनताबोध गर्नुनपर्ने बताए।

‘पृथ्वीनारायण शाह थिए र नेपाल भन्ने राष्ट्र छ। नेपाल राष्ट्र छ र आज प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ,’ पुस २७ गते पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएकोमा धन्यवाद दिँदै उनले भने, ‘जसले नेपाली नाम र पहिचान दियो त्यसको सम्मान गर्न हिनताबोध गर्नुपर्दैन।’

सरकारले गौरवशाली दिनहरूको सम्मान गरेर अघि बढ्दा प्रतिगमन नहुने भन्दै उनले राष्ट्रिय एकता दिवस कुनै पार्टीको नभएको बताए।

‘हामीले हाम्रो इतिहासका गौरवशाली दिनहरुको सम्मान गरेर अगाडि बढ्दा हामी पछाडि फर्केको हुँदैन,’ उनले भने, ‘पृथ्वी जयन्ती राष्ट्रिय एकता दिवस कुनै पार्टीको वा कुनै विचारको मात्र दिवस होइन। हामी सबैको हो’

यति भन्दै गर्दा उनले बुधबार पार्टीको तर्फबाट भृकुटीमण्डपमा आयोजना गरेको चियापान उपस्थित हुन सबैलाई चुलेनिम्तोसमेत दिए।

पुष २६, २०७९ मंगलबार १४:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।