हामी कहीँ न कहीँ चुकेका छौँ, प्रधानमन्त्रीको यो कार्यकाल इमान्दार स्वीकारोक्ति साथ सुरु गर्न चाहन्छु: प्रचण्ड

हामी कहीँ न कहीँ चुकेका छौँ, प्रधानमन्त्रीको यो कार्यकाल इमान्दार स्वीकारोक्ति साथ सुरु गर्न चाहन्छु: प्रचण्ड

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद्मा विश्वासको मत लिँदैछन्। विश्वासको मत माग्दै उनले प्रतिनिधि सभाको आजको बैठकमा आफू यसपटक ठूलो आत्मस्वीकारोक्ति र आत्मसमीक्षासहित रोस्टममा उभिएको बताएका छन्।

उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा आफूसँग टिम र अनुभव नभएकाले पार्टीभित्रैको सङ्घर्षमा बढी रुमल्लिएको स्वीकार गरेका छन्। 'म यसअघि नौ–नौ महिना दुईपटक प्रधानमन्त्री भएँ। आज यो स्वीकार गर्न मलाई कुनै सङ्कोच छैन, पहिलोपटक प्रधानमन्त्री हुँदा मसँग न अनुभव थियो, न टिम। विभाजित मनोदशामा थिएँ र पार्टीभित्रैको सङ्घर्षमा बढी रुमल्लिएँ', उनले भने।

यद्यपि उनले त्यसबेला आफूले सुरु गरेका मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर, गरिब किसानको ऋण–मिनाहा र विद्युतीकरणमा तीव्रताले राष्ट्रिय जीवनमा पारेको प्रभावबाट थोरै भए पनि सन्तोष मिलेको बताए।

यस्तै आफ्नो दोस्रो कार्यकाल वैदेशिक सम्बन्धमा ठूलो उतारचढाव आएका बेला सुरु भएको भन्दै उनले संविधान संशोधनको प्रयासबाट मधेशलाई विश्वासमा लिएको र स्थानीय तहको निर्वाचन गरेर संविधान कार्यान्वयनको विश्वासपूर्ण सुरुवात गरेको बताए।

यस्तै लोडसेडिङको अन्त्य र कहिल्यै पालना नहुने राजनीतिक सहमतिको अक्षरशः पालना गरेको पनि बताए।

'मैले हाम्रो राजनीतिमा एउटा नैतिक मानक पनि कायम गरेँ। मलाई लाग्छ, मेरो त्यो छोटो कार्यकाल सफल कार्यकालका रूपमा इतिहासमा दर्ज भएको छ। आज परिस्थितिवश तेस्रो पटक प्रधानमन्त्रीका रूपमा विश्वासको मतका लागि अनुरोध गर्न म यो सम्मानित संसदमा उभिएको छु', उनले भने।

उनले यसपटक आफू फरक सङ्कल्पका साथ संसदसामु उभिएको बताए।

'विश्वासको मत पाएँ भने म प्रधानमन्त्रीको यो कार्यकाल यो इमान्दार स्वीकारोक्तिका साथ सुरु गर्न चाहन्छु कि हामी राजनीतिकर्मी कहीँ न कहीँ चुकेका छौँ। त्यसो हुन्नथ्यो भने हाम्रा लाखौँ युवा विदेशी भूमिमा पसिना बगाइरहेका हुने थिएनन्, आफ्नै परिवारसँग आफ्नै देशमा रमाइरहेका हुने थिए। पचास लाखभन्दा बढी नेपाली अहिले पनि बहुआयामिक गरिबीमा हुने थिएनन्। हाम्रा विश्वविद्यालयहरू क्यालेण्डरसम्म बनाउन नसक्ने गरी भद्रगोल हुने थिएनन्। शिक्षा र स्वास्थ्य क्षेत्र राज्यको नियन्त्रणबाट लगभग बाहिर जाने थिएन। विकास आयोजनाहरू यस्तो लथालिङ्ग अवस्थामा हुने थिएनन्। खेलाडीलाई अरू सुविधा त परको कुरा, डाइटसम्म दिन नसक्ने अवस्था हुने थिएन। जनताको हामीप्रति एक ढङ्गको असन्तोष छ भन्ने तथ्य लुकाएर होइन, त्यसलाई स्वीकार गरेर त्यो अवस्था बदल्ने गरी कार्यकाल सुरु गर्न म यो संसदको विश्वास चाहन्छु', प्रचण्डले भने।

पुष २६, २०७९ मंगलबार १४:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।