दुबै महामन्त्री अनि चार केन्द्रीय सदस्य विपक्षमा उभिए पनि संसदीय दलको नेताको हैसियतमा देउवाले लगाए विश्वासको मत दिने ह्विप

दुबै महामन्त्री अनि चार केन्द्रीय सदस्य विपक्षमा उभिए पनि संसदीय दलको नेताको हैसियतमा देउवाले लगाए विश्वासको मत दिने ह्विप

काठमाडौँ : प्रमुख प्रतिपक्षी दलको भूमिका निर्वाह गर्न पार्टीका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, बलबहादुर केसी र प्रदीप पौडेल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन नहुने पक्षमा उभिए पनि पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेताको हैसियतमा विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय गराएका छन्।

पार्टीको कार्यसम्पादन समितिको बैठकमा पाँच नेताले विश्वासको मत दिन नहुने, प्रमुख प्रतिपक्षी दलको रूपमा सरकारको कामको निगरानी राख्नुपर्ने मत राखेका थिए। तर अधिकांश नेताहरू सभापति देउवाको पक्षमा सहमत भएपछि बैठकले विश्वासको मत दिने तर प्रतिपक्षमा बस्ने विरोधभाषपूर्ण निर्णय गरेको हो।

उनीहरूले तीन बुँदे धारणासहित प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहनुपर्ने र विश्वासको मत दिन नहुने धारणा राखे पनि बैठकले स्वीकार गरेन।

उनीहरूले सदनमा सशक्त प्रतिपक्ष आवश्यक रहेकाले सरकारलाई विश्वासको मत दिएर यो परिस्थितिमा पार्टीले प्रतिपक्षको गहन भूमिका निर्वाह गर्न नसक्ने र विश्वासको मत दिएर विपक्षमा बस्ने संविधानले नै यस्तो अभ्यासको परिकल्पना नगरेको भन्दै यो राजनीतिक, संवैधानिक, व्यवहारिक र नैतिक दृष्टिकोणले पनि अस्वाभाविक हुने बताएका थिए।

कांग्रेस सदनको ठुलो दल रहेको र ठुलो दलले सरकारको नेतृत्वको दाबी स्वाभाविक भए पनि ठुलो दल सरकार बाहिर छ रहेकाले संविधानको धारा ७६(२) अनुसार नै दोस्रो दलको समर्थनमा तेस्रो दलको नेतृत्वमा सरकार बनिसकेको अवस्थामा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने उनीहरूको धारणा थियो।

'अहिले संविधान निर्माणका वेलाको जस्तो विशेष राष्ट्रिय परिस्थिति वा शान्ति प्रक्रिया र संविधानसभा निर्वाचनको समयमा जस्तो वृहत् राष्ट्रिय सहमति आवश्यक भएको अवस्था पनि होइन,' उनीहरूको फरक मतमा लेखिएको छ' न त अहिले सरकारलाई विश्वासको सङ्कट नै परेको अवस्था छ। यो अवस्थामा आफ्नै नेतृत्वमा बनेको संविधान र लोकतन्त्रको रक्षार्थ तथा सरकारलाई जनताप्रति जबाफदेही र जिम्मेवार बनाउन कांग्रेसले संसद्मा प्रतिपक्षी भूमिकालाई नै सशक्त र रचनात्मक बनाउनुपर्छ।'

आगामी दिनमा कुनै पनि वेला सरकारमा विश्वासको संकट उत्पन्न भई संविधान कार्यान्वयनमा समस्या उत्पन्न भएको अवस्थामा कांग्रेस यो व्यवस्था र संविधानको रक्षार्थ संविधान बमोजिमका विकल्प दिन तयार हुनुपर्ने भन्दै उनीहरूले अहिलेको अवस्थामा कांग्रेसले सरकारलाई विश्वासको मत दिने पक्षमा निर्णय गर्न नहुने बताएका थिए।

तर उनीहरूको फरक मतले पार्टीको निर्णय बदलिएन। पार्टीको संसदीय दलका नेता देउवाले सरकारको विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरे।

पुष २६, २०७९ मंगलबार १४:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।