राेनाल्डाेबारे पोर्चुगलका नयाँ प्रशिक्षककाे धारणा- ‘म काेठाभित्र बसेर निर्णय गर्ने प्रशिक्षक होइन’
एजेन्सी : रोबर्टो मार्टिनेज पोर्चुगिज राष्ट्रिय टोलीका नयाँ प्रशिक्षकमा नियुक्त भएसँगै उनको नेतृत्वमा क्रिस्टियानो रोनाल्डोले कस्तो भूमिका खेल्छन् भन्ने चासो धेरैको मनमा छ।
स्पेनिस प्रशिक्षकले साढे छ वर्ष बेल्जियमको जिम्मेवारी सम्हाले पनि कुनै ट्रफी भने जिताउन सकेनन्। २०२२ को कतार विश्वकपमा बेल्जियम समूह चरणबाट नकआउटमा प्रवेश गर्नुले पनि उनको क्षमतामा शंका गर्नुपर्ने देखिँदैन।
अब मार्टिनेजको हातमा बर्नार्डो सिल्भा र ब्रुनो फर्नान्डिस जस्ता खेलाडी, गोन्कालो रामोस, राफेल लिओ र जोआओ फेलिक्स जस्ता राइजिङ स्टार र उपाधिका लागि तिर्खाएको पोर्चुगल हुनेछ।
बेल्जियमको इन्चार्ज हुनुका साथै, मार्टिनेजले प्रिमियर लिगमा विगान एथलेटिक र एभर्टन जस्ता टोलीहरूसँग पनि प्रशिक्षण गरिसकेका छन्।
प्रशिक्षक नियुक्तिपछि सञ्चारकर्मीले सोधेको क्रिस्टियानो रोनाल्डोलाई बोलाउने वा नबोलाउने भन्ने प्रश्नमा मार्टिनेजले भने, ‘फुटबलका निर्णयहरू मैदानमा लिनुपर्छ। म अफिसमा निर्णय गर्ने प्रशिक्षक होइन। खेलाडीहरूसँग भेट्ने र सम्पर्क गर्ने कामबाट म सुरू गर्नेछु।’
कतार विश्वकपमा छानिएका २६ खेलाडीको सूची आफ्नो सुरुवाती विन्दु भएको भन्दै उनले क्रिस्टियानो त्यो सूचीमा भएकाले उनलाई पनि सम्पर्क गर्ने बताए।
‘उनी १९ वर्षदेखि राष्ट्रिय टोलीमा छन् र उनी बसेर कुरा गर्ने सम्मानको हकदार छन्,’ उनले थपे, ‘भोलिदेखि हामी कुरा गर्न र एकअर्कालाई चिन्न थाल्नेछौं र क्रिस्टियानो ती मध्ये एक हुन्।’
मार्टिनेजले आफूसँग कोचिङ स्टाफको संरचना र भूमिकाको स्पष्ट धारणा भएकाले त्यहिअनुसार आफूले काम गर्ने उनले स्पष्ट पारे।
‘मसँग भएको कोचिङ स्टाफको संरचना र भूमिकाबारे केही दिनमा घोषणा गर्नेछु। मेरो टिममा पोर्चुगलका सहायक र पूर्व राष्ट्रिय टोलीका खेलाडी ल्याउन चाहन्छु,’ उनले थपे, ‘उनीहरू कोचिङ स्टाफका लागि महत्त्वपूर्ण हुनेछन् र पोर्चुगल फुटबलको लागि गति दिनेछन् भन्ने मेरो विश्वास छ। म सिस्टममा विश्वास गर्दिन। खेल जित्नको लागि प्रतिभा बाहिर ल्याउनुपर्छ।’
पुष २६, २०७९ मंगलबार १४:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।