जातीय विभेदको आरोपमा पक्राउ परे पोखरा-२४ का वडाध्यक्ष, दलित महिला सदस्यलाई सार्वजनिक कार्यक्रममै गरेका थिए गालीगलौज

जातीय विभेदको आरोपमा पक्राउ परे पोखरा-२४ का वडाध्यक्ष, दलित महिला सदस्यलाई सार्वजनिक कार्यक्रममै गरेका थिए गालीगलौज

पोखराः वडा सदस्यलाई जातीय विभेदजन्य गालीगलौज गरेको आरोपमा पोखरा महानगरपालिका २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी पक्राउ परेका छन्। वडाध्यक्ष अधिकारीले आफ्नै वडाका दलित महिला सदस्यलाई जातीय विभेद गरी अपमानजनक शब्द बोलेको आरोपमा पक्राउ परेका हुन्। 

वडा सदस्य मैया नेपालीले वडाध्यक्ष भरतबहादुर अधिकारीले सार्वजनिक कार्यक्रममै आफूमाथि जातीय विभेदजन्य गालीगलौज गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा आइतबार जाहेरी दर्ता गराएकी थिइन्।

नेपालीको जाहेरीसँगै फरार रहेका अधिकारी आज बिहान आफैं जिल्ला प्रहरी कार्यालय पुगेका थिए। यही पुस १८ गते वडाले लक्षित समूहको लागि छुट्ट्याएको ५ लाख रुपैयाँमध्ये महिलालाई ४ लाख र दलितलाई १ लाख रुपैयाँ विनियोज गरेका थियो।

महिलालाई छुट्ट्याइएको बजेट खर्च गर्न महिला भेला गरेर योजना निर्धारण गर्ने तय गरिएको थियो। लक्षित वर्गमा छुट्टिएको बजेट कार्यान्वयनका लागि आयोजित महिलाहरूको भेलामा दोहोरो संवाद हुँदै गर्दा वडा अध्यक्ष अधिकारीले अपमानजनक शब्द बोलेको जाहेरीमा उल्लेख गरिएको छ। 

अधिकारी पोखरा–२४ मा कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन्। पक्राउ परेका अधिकारीलाई म्याद थपका लागी अदालत लाने तयारी प्रहरीले गरेको छ।

पुष २६, २०७९ मंगलबार १२:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।