फ्रान्सका कप्तानले गरे सन्यासकाे घाेषणा, अर्जेन्टिनासँग पराजित भएकाे विश्वकपकाे फाइनल खेल नै बन्याे अन्तिम

फ्रान्सका कप्तानले गरे सन्यासकाे घाेषणा, अर्जेन्टिनासँग पराजित भएकाे विश्वकपकाे फाइनल खेल नै बन्याे अन्तिम

एजेन्सीः विश्वकपमा अर्जेन्टिनासँग पराजित हुँदै उपविजेता बनेकाे फ्रान्सका कप्तान तथा गोलकिप्पर ह्युगाे लोरिसले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन्। विश्वकपकाे फाइनलमा पराजित भएकाे तीन सातापछि ३६ वर्षीय लोरिसले सन्यासको घोषणा गरेका हुन्।

कतारमा सम्पन्न विश्वकपकाे फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी सुट आउटमा ४-२ ले पराजित भएपछि फ्रान्सले लगातार दाेस्राे पटक विश्वकप जित्ने माैका गुमाएकाे थियाे।

विश्वकपको फाइनलमा अर्जेन्टिनासँगको याे खेल नै उनकाे अन्तर्राष्ट्रिय करियरकाे अन्तिम खेल बन्याे।

लोरिसले देशका लागि सबैथोक दिएको महसुस गर्दै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने निर्णय गरेको बताए। यसअघि लोरिसकै कप्तानीमा फ्रान्सले सन् २०१८ मा भने विश्वकप जितेकाे थियो।

२१ वर्षको उमेरमा अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका उनले फ्रान्सका लागि सर्वाधिक १४५ खेल खेल्ने रेकर्ड बनाएका छन्।

साथै, उनकाे नाउँमा फ्रान्सका लागि सर्वाधिक १२१ खेलमा कप्तानी गरेकाे कीर्तिमान पनि छ। लोरिसले विश्वकप सकिए पछि नै सन्यासकाे बारेमा सोचिरहेकोमा हाल घोषणा गरेका बताएका छन्।

पुष २६, २०७९ मंगलबार १२:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।