बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलद्वारा शपथ ग्रहण, दुई जना मन्त्री पनि थपिए
काठमाडौं: बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री जमकट्टेललाई आज बिहान ९ः४० मा पद तथा गोपनीयताको शपथ गराएका हुन्।
यस्तै मुख्यमन्त्री जमकट्टेलको सिफारिसमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापालाई प्रदेश प्रमुख शर्माले मन्त्रीमा नियुक्त गरेका छन्। नवनियुक्त दुई मन्त्रीलाई पनि प्रदेश प्रमुख शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।
थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने थापालाई बिनाविभागीय मन्त्रीका रूपमा नियुक्त गरिएको हो।
मुख्यमन्त्री जमकट्टेलले बागमती प्रदेशको १४ मन्त्रालयलमध्ये १३ मन्त्रालय अर्को मन्त्रिपरिषद् विस्तार नभएसम्मका लागि आफैँले सम्हाल्नेछन्।
नवनियुक्त मुख्यमन्त्री जमकट्टेल धादिङ जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं १ (क) बाट निर्वाचित भएका हुन्। नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री थपलिया चितवन १ (क) र बिनाविभागीय मन्त्री थापा काठमाडौं क्षेत्र नं ८ (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्।
पुष २६, २०७९ मंगलबार ११:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।