विश्वासको मत र सरकारमा सहभागिता बारे छलफल गर्न एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
काठमाडौं: एकीकृत समाजवादीले पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्त्वको सरकारलाई विश्वासको मत दिने वा नदिनेबारे निर्णय गर्न आज सचिवालय बैठक बोलाएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बस्ने बैठकले सरकारलाई समर्थन गर्ने वा नगर्ने तथा सरकारमा सहभागी हुने वा नहुने लगायत विषयमा निर्णय लिने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
केही दिनअगाडि बसेको पार्टीको पोलिटब्यूरो बैठकले सत्तापक्षीय सबै दलको समन्वयमा निर्माण भएको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएपछि त्यसका अध्ययनका आधारमा सरकारलाई समर्थन गर्ने विषयमा टुङ्गो लगाउने निर्णय गरेको थियो। सरकारको न्यूनतम साझा कार्यक्रम सोमबार सार्वजनिक भएको थियो।
सचिवालय बैठकपछि आजै पार्टीको संसदीय दलको बैठक बोलाइएको छ। उक्त बैठकमा सचिवालय बैठकको निर्णयानुसार दलका नेतालाई निर्देशन दिने तथा ह्वीप जारी गर्ने नेता कृष्णकुमार श्रेष्ठले जानकारी दिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ। प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० सदस्य छन्।
पुष २६, २०७९ मंगलबार ०९:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।