लुम्बिनी प्रदेश एमाले संसदीय दलका नेता गिरीले आज मुख्यमन्त्रीमा दावी पेश गर्ने

लुम्बिनी प्रदेश एमाले संसदीय दलका नेता गिरीले आज मुख्यमन्त्रीमा दावी पेश गर्ने

बुटवल: लुम्बिनी प्रदेशमा आज एमाले संसदीय दलका नेता लीला गिरीले सरकारको नेतृत्त्वमा दावी पेश गर्ने भएका छन्। दिउँसो प्रदेश प्रमुख कार्यालय बुटवलमा गिरीले माओवादी केन्द्र लगायत दलहरूको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गर्न लागेका हुन्।

प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते ४ बजेभित्र सरकारको नेतृत्त्वमा दावी पेश गर्न आह्वान गरे पनि गिरीले त्यसको एक दिनअघि नै दावी पेश गर्न लागेका हुन्।

मुख्यमन्त्री दावी पेश गर्नासाथ गिरीलाई प्रदेश प्रमुख शेरचनले आजै मुख्यमन्त्री नियुक्त गर्नेछन्। ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन चाहिन्छ।

सत्ता साझेदार दलहरूमध्ये सबैभन्दा धेरै एमालेका २९ सांसद छन्। यसैगरी माओवादी केन्द्रका १०, राप्रपाका ४ तथा जसपा र जनमत पार्टीका ३/३ जना सांसद छन्।

यसैगरी कांग्रेसका २७, लोसपाका ३, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ तथा स्वतन्त्रबाट निर्वाचित २ जना सांसद छन्।

सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच भएको सहमतिअनुसार लुम्बिनी प्रदेशको नेतृत्त्व पाँचै वर्ष एमालेले गर्नेछ।

पुष २६, २०७९ मंगलबार ०९:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।