आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज संसद्मा विश्वासको मत लिँदैछन्। नवगठित प्रतिनिधि सभाको पहिलो अधिवेशनको दोस्रो बैठक आज बिहान ११ बजे बस्दैछ।
आज प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १५२ बमोजिम प्रस्ताव पेश गर्नेछन्।
उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जनाएका छन्।
प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार आज विश्वासको मत लिन लागिएको हो।
गत १० पुसमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनलाई एमाले, माओवादी, राप्रपा, रास्वपा लगायतका दलका साथै अन्य सांसद समेत गरी १६९ सदस्यको समर्थन छ।
पुष २६, २०७९ मंगलबार ०८:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।