अब पाल्पाबाटै लाइसेन्स लिन पाइने

अब पाल्पाबाटै लाइसेन्स लिन पाइने

काठमाडौं: सवारी चालकको अनुमतिपत्र 'लाइसेन्स' अब पाल्पाबाटै पाइने भएको छ। यसअघि बुटवल धाउनुपर्ने बाध्यता रहे पनि दुईपाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्र अब पाल्पाबाटै पाइने भएको हो।

सोमबार लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्थामन्त्री पुरमती ढेँगाले तानसेन नगरपालिका–७ ठाँटीमा सो सेवाको शुभारम्भ गरेका हुन्।

यातायात व्यवस्था सेवा कार्यालय बर्तुङ्गमा सञ्चालनमा छ भने तानसेनको बाँसटारी नजिकै सुरु भएको सवारी चालक अनुमतिपत्रका सबै काम हुने बताइएको छ। बुटवलमा सवारी चालक अनुमतिपत्र लिनेको भीड लाग्ने र अर्कोतर्फ पाल्पासहित आसपासका जिल्लाका स्थानीयलाई बुटवल आउनजान समस्या हुने भएकाले यहीँबाटै सेवा थालिएको हो।

साना सवारीसाधनका लागि निर्माण हुने सवारी चालक अनुमतिपत्र परीक्षण केन्द्रमा काम सुरुआत भएसँगै चालु आर्थिक वर्षमा भवन निर्माणलगायतका काम हुनेछ। तीन करोड ५० लाख रुपैयाँ बजेट आवश्यक भए पनि यस वर्ष मन्त्रालयबाट रु एक करोड बजेट विनियोजन गरिएको छ।

जिल्लामा पहिलो पटक दुईपाङ्ग्रे सवारीसाधनको सवारी चालक अनुमतिपत्रको सेवाबाट पाल्पासहित गुल्मी, स्याङ्जा, अर्घाखाँचीलगायतका स्थानीयलाई सेवा लिन सहज हुने तानसेन नगरपालिका–६ का वडाध्यक्ष सागरमान महर्जनले बताए।

पुष २६, २०७९ मंगलबार ०८:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।