महोत्तरी प्रशासन कार्यालयमा २३४ मिटरब्याजी सम्बन्धी उजुरी
काठमाडौं: जिल्ला प्रशासन कार्यालय महोत्तरीले मिटरब्याजीमाथि धमाधम कारबाही प्रक्रिया अगाडि बढाएको छ। कार्यालयमा हालसम्म २३४ मिटरब्याजी सम्बन्धी उजुरी परेको र प्राप्त उजुरीमाथिको कारबाही प्रक्रिया द्रुत गतिका साथ अगाडि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए।
उनले मिटरब्याज सम्बन्धी प्राप्त उजुरीसँग सम्बन्धित व्यक्तिलाई त्यस कार्यालयबाट पत्राचार गर्ने, बोलाउने तथा छलफल गराउने तथा छानबिन प्रक्रियाजस्ता काम–कारबाही अगाडि बढाइएको जानकारी दिए।
उनले कार्यालयबाट ४९ जनालाई पत्राचार गरिसकिएको र चार वटा मुद्दामा सहमति भएको बताए। त्यस्तै प्राप्त उजुरीमध्ये ३६ मुद्दा प्रक्रियामा अदालतमा गइसकेको र पाँच उजुरीको मुद्दा अदालतमा चलिरहेको अवस्थामा रहेको उनले बताए।
बाँकी उजुरीमाथि कार्यालयले दुवै पक्ष विपक्षलाई बोलाएर धमाधम काम अगाडि बढाइरहेको जनाइएको छ।
पुष २६, २०७९ मंगलबार ०८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।