‘प्रचण्डले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्न नजाँदासम्म बिदाको अर्थ छैन’

‘प्रचण्डले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्न नजाँदासम्म बिदाको अर्थ छैन’

काठमाडौं : कमल थापा नेतृत्त्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा, नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रनिर्मातो पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण नगरेसम्म पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिनुको अर्थ नभएको बताएको छ।

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय पार्टीका महामन्त्री राजाराम बर्तौलाले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा नमनाउने र प्रधानमन्त्री प्रचण्डले राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गर्न नजाने हो भने विदा दिनुको कुनै अर्थ नरहने बताए।

राप्रपा नेपालले पृथ्वी जयन्ती मनाउने विषयमा जानकारी दिन जारी गरिएको प्रेस नोटमा उनले प्रचण्डले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण नगरेसम्म त्यो केवल सत्ता स्वार्थको निर्णय हुने बताए। उनले सरकारी तवरबाट नै यस दिवसलाई मनाउनुपर्नेमा जोड दिए।

यसैबीच यस वर्ष राप्रपा नेपालले पृथ्वी जयन्तीलाई फरक तरिकाले मनाउने भएको छ। हरेक वर्ष राजनीतिक दलका नेताहरू र कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई बोलाएर चियापान र विचार गोष्ठी राख्ने गरेका कमल थापाको पार्टीले यसपटक भने समाजका विभिन्न वर्ग र पेशाका प्रतिनिधिहरूलाई आमन्त्रण गर्ने भएको बर्तौलाले बताए।

विगतमा राजनीतिक दलको रुपमा राप्रपा नेपाल एक्लैले मात्र राष्ट्रिय एकता दिवस मनाउने गरेकोमा केही वर्षदेखि नागरिक समाजको विभिन्न क्षेत्रबाट उक्त दिवस मनाउने लहर चलेको हुँदा राप्रपा नेपालले केही फरक ढंगबाट कार्यक्रम गर्न लागेको उनले स्पष्ट पारे।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई केवल भौगोलिक एकीकरण मात्र गरेको अर्थ दिने गरि सम्बोधन गरिनु र राष्ट्रिय एकता दिवसको रूपमा मनाउनेबारे कुनै निर्णय नभएकोमा उनले असन्तुष्टि जनाए।

पुष २५, २०७९ सोमबार २०:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।