११औं पोखरा महोत्सवको तयारी पूरा, यी सात समूहलाई नि:शुल्क प्रवेश दिइने
पोखरा : पोखराको अमरसिंह चौरमा भोलिदेखि माघ ९ गतेसम्म हुने ११औं पोखरा महोत्सवको तयारी पूरा भएको छ।
सोमबार आयोजक युनाइटेड क्लबले पत्रकार सम्मेलन गरेर महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।
महोत्सवको आम्दानीले सेती नदी खोँचलाई साहसिक पर्यटकीय गन्तव्य निर्माण गर्ने र क्लबले अर्चलेमा निर्माण थालेको गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रावासको आवश्यक पूर्वाधार निर्माण गर्ने क्लबका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार क्लबले लिएको शिक्षा, स्वास्थ्य, खेलकुुद, पर्यटन प्रवर्द्धन र सेती नदी संरक्षणलाई निरन्तरता दिइने छ। महोत्सवमा प्रत्येक टिकटबाट एक रुपैयाँ सेती नदी संरक्षणको लागि छुट्याइने उनले बताए।
१३ दिनसम्म सञ्चालन हुने महोत्सवमा २ सय ५८ स्टल रहने र साढे २ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको अपेक्षा छ।
महोत्सवले देशको कला, संस्कृति, भेषभुषाको संरक्षण, शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटनको विकास गरी देशलाई समृद्धि तिर पुर्याउने, विकसित सूचना प्रविधिको जानकारी सर्वसाधारण समक्ष पुर्याउने, प्रदेशमा रहेका पर्यटकीय स्थानको बारेमा जानकारी दिँदै आन्तरिक तथा बाह्य क्षेत्रमा उत्पादित वस्तुहरूको बजारीकरण गर्न सहयोग पुग्ने क्लबको विश्वास छ।
महोत्सवमा शारिरीक अशक्त, बृद्धबृद्धा, एकल महिला, विदेशी पर्यटक, पत्रकार, ६ वर्ष मुनिका वालवालिका र सुरक्षाकर्मीलाइ निः शुल्क प्रवेश दिइनेछ।
महोत्सवको उद्घाटन गण्डकी प्रदेशको नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले बुधबार गर्नेछन्।
पुष २५, २०७९ सोमबार १९:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।