‘प्रधानमन्त्रीसमेत कमिसनको चास्नीमा डुब्ने देशका गृहमन्त्रीको प्रतिबद्धता महत्त्वपूर्ण छ’
काठमाडौं : चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरीले गृहमन्त्री रवि लामिछानेको प्रतिबद्धता महत्त्वपूर्ण भएको बताएका छन्।
सोमबार संसद्मा पहिलोपटक गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछानेले दिएको अभिव्यक्तिपछि गिरीले उनको प्रतिबद्धता महत्त्वपूर्ण भएको बताएका हुन्।
उनले भनेका छन्, ‘पिएनदेखि प्रधानमन्त्रीसम्म कमिशन र भ्रष्टाचारको चास्नीमा डुब्ने मुलुकमा गृहमन्त्रीको प्रतिबद्धता महत्त्वपूर्ण छ। शुभकामना!’
सोमबार संसदमा गृहमन्त्री लामिछानेले संसदले वर्षौदेखिका भ्रष्टाचारका भारी बिसाउनुपर्ने तर्क गरेका थिए।
‘संसद अधिवेशनको पहिलो दिनमा हामीले भन्नैपर्छ– वर्षौंदेखि भ्रष्टाचारका विभिन्न काण्डहरू मच्चाएको र जनता निराश भएको अवस्थामा अबको संसदले त्यो भारी बोकिरहन्छ कि त्यो भारीलाई बिसाउँछ?,’ लामिछानेले प्रश्न गरे।
उनले भ्रष्टाचारको सम्पूर्ण पुराना फाइलहरू खोल्न ऐक्यवद्धताको पनि माग गरेका थिए। संसदलाई प्रश्न गरेका उनले सांसदलाई खबरदारीपूर्ण आग्रह पनि गरेका थिए।
लामिछानेले छातीमा हात राख्दै आफू र आफ्नो दलका सांसदले कुनै पनि प्रकारको अनियमितता नगर्ने वाचासमेत गरेका थिए।
‘म र म सम्वद्ध दलका कुनै पनि प्रतिनिधिहरुबाट, सांसदहरुबाट कुनै पनि किसिमको अनियमितता हुने छैन। कहीँकतै नागरिकलाई दुःख दिने काम हुने छैन। कुनै काण्डहरूमा हामी मुछिने छैनौं’, लामिछानेले भनेका थिए, ‘म बाचा गर्न चाहन्छु– हामी मुलुक र मुलुकबासीका लागि हामीले हिजो गरेका बाचाहरु पूरा गर्नका लागि तयार भएर आएका छौं ’
पुष २५, २०७९ सोमबार १८:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।