गण्डकीमा मुख्यमन्त्रीसहित चार मन्त्रीले लिए शपथ
पोखरा : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित चार मन्त्रीले शपथ लिएका छन्।
संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री मन्त्रीमा खगराज अधिकारीलाइ नियुक्तिपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री अधिकारीसहित चार मन्त्रीलाई शपथग्रहण गराएका हुन्।
एमालेकी सीताकुमारी सुन्दास, माओवादी केन्द्रका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरुङले मन्त्री पदको शपथ लिएका छन्। तर उनीहरूलाई दिने मन्त्रालय भने अझै तोकिएको छैन।
अधिकारी मुख्यमन्त्रीको आकांक्षासहित संघीय सांसद्को उम्मेदवार नबनी गण्डकी प्रदेशसभा सदस्यमा उमेदवार बनेर कास्की १ ‘क’ बाट निर्वाचित भएका थिए। यसअघि स्वास्थ्य र गृहमन्त्रीसमेत भएका अधिकारी प्रदेशकै मुख्यमन्त्री बन्नका लागि पार्टी अध्यक्ष खड्गप्रसाद ओलीको सल्लाहमा प्रदेशसभामा झरेका थिए।
त्यसैगरी विनाविभागीय मन्त्रीमा सपथ लिएकी सुन्दास स्याङ्जाको क्षेत्र नं १ को ‘क’बाट निर्वाचित भएकी हुन्। उनले यसअघि जिल्ला समन्वय समितिको प्रमुख भएर काम गरिसकेकी छन्।
त्यस्तै माओवादीबाट मन्त्री बनेका हरिबहादुर चुमान तनहुँ क्षेत्र नं. १ को ‘ख’बाट निर्वाचित भएका हुन्। २०७४ को निर्वाचनमा पनि तनहुँको यसै क्षेत्रबाट निर्वाचित भएपछि उनी गण्डकी प्रदेशको आन्तरिक तथा कानुन मन्त्री बनेका थिए।
चुमानले खगराजसँगै गण्डकीको मुख्यमन्त्रीमा दावी गरेका थिए। तर, केन्द्रीय नेतृत्वमा गण्डकीको मुख्यमन्त्री एमालेलाइ दिने सहमति गरेपछि उनी पछि हटेका हुन्।
राप्रपाका गुरुङ प्रदेशसभामा नयाँ अनुहार हुन्। राप्रपाले गण्डकीमा पहिलो पटक दुई सांसदले प्रतिनिधित्व गर्ने अवसर पाएको हो।
गण्डकीमा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ जना र एकजना स्वतन्त्रबाट निर्वाचन जितेर एकीकृत समाजवादी प्रवेश गरेका दिपक मनाङे सहित ३३ जना सांसद्को समर्थनमा खगराज अधिकारी मुख्यमन्त्री बनेका हुन्।
पुष २५, २०७९ सोमबार १७:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।