नमुना काम गर्छु भन्ने प्रधानमन्त्रीको प्रतिबद्धता छ, बोली र व्यवहारमा एकता होस्ः माधव नेपाल
काठमाडाैंः एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै मिलेर संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले जनतालाई अनुभूत हुनेगरी सङ्घीयता कार्यान्वयन गर्नुपर्नेमा जाेड दिए।
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिँदै उनले भने, ‘जनअपेक्षा अनुसार नमुना काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता छ, बोली र व्यवहारमा एकता कायम होस्।’
अध्यक्ष नेपालले राजनीतिक अग्रजले देश र जनतालाई सार्वभौम र स्वतन्त्र बनाउन योगदान गरेको उल्लेख गर्दै वर्तमान राजनीतिक नेतृत्वसँग पनि जनताले धेरै अपेक्षा गरेकाे बताए।
उनले मुलुकमा भ्रष्टाचार, ढिलासुस्ती, दण्डहीनता, कर्तव्यविमुख प्रवृत्ति मौलाएको उल्लेख गर्दै ती समस्या समाधानका लागि सबै एकजुट भएर जनतालाई सुशासनको प्रत्याभूत हुनेगरी काम गर्नुपर्ने उल्लेख गरे।
मुलुकमा बढेको कालोबजारी, महँगी र बेरोजगारीलाई अन्त्य गरी सङ्कटग्रस्त अर्थतन्त्र उकास्ने काम गर्न नेपालले सरकारलाई सुझाव दिएका छन्।
पुष २५, २०७९ सोमबार १६:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।