नेपाल टी-२‍० : विराटनगरले गर्‍याे जनकपुरसँगको भेट पक्का, काठमाडौं ९९ रनले पराजित

नेपाल टी-२‍० : विराटनगरले गर्‍याे जनकपुरसँगको भेट पक्का, काठमाडौं ९९ रनले पराजित

काठमाडौं : नेपाल टी–२० लिगको दोस्रो क्वालिफायरमा विराटनगर सुपर किंग्सले जनकपुर रोयल्ससँगको भेट पक्का गरेको छ।

सोमबार भएको इलिमिनेटरमा काठमाडौं नाइट्सलाई ९९ रनले पराजित गर्दै दोस्रो क्वालिफायरको यात्रा तय गरेको हो।

१८३ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौंलाई विराटनगरले १२.४ ओभरमा ८३ रनमा समेट्यो।

उसका लागि अभिनाश बोहराले नटआउट १६ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १५ र ओपनर लोकेश बमले १३ रन बनाए। तीबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङतर्फ विराटनगरका सूर्य तामाङले तीन, शाहब आलम र कियोन जोसेफले समान दुई–दुई र हुसैन तलटले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो।

उसका लागि कप्तान रोहित पौडेलले अर्धशतकीय इनिङ खेले। उनले ४९ बलमा ६ चौका र २ छक्कासहित ६१ रन बनाए।

विवेक यादवले नटआउट ४६ रन बनाउँदा हुसेन तलटले ३८ र राज नन्ननले २३ रन जोडे। पृथु बास्कोटा र गौरान्शु शर्मा समान १ रनमा पेभेलियन फर्कँदा अर्जुन साउदले २ रन बनाए।

बलिङमा काठमाडौंका बसीर अनिल खरेल र कमलसिंह ऐरीले समान दुई–दुई तथा अभिनाश बोहरा र गौतम जिसीले समान एक–एक विकेट लिए। हारेसँगै काठमाडाैं प्रतियाेगिताबाट बाहिरिएकाे छ।

जितसँगै विराटनगरले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित जनकपुरसँग भिड्नेछ। दोस्रो क्वालिफायर भोलि दिउँसो १२ बजे हुनेछ।

यसअघि नै फाइनलमा लुम्बिनी अल स्टारले स्थान बनाइसकेको छ। अब विराटनगर र जनकपुरको विजेताले फाइनल खेल्नेछ।

फाइनल खेल बुधबार मध्यान्ह १२ बजे हुनेछ।

पुष २५, २०७९ सोमबार १५:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।