हामी निरन्तर जनताको निगरानीमा छौंः प्रचण्ड

हामी निरन्तर जनताको निगरानीमा छौंः प्रचण्ड

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेताहरू निरन्तर रूपमा जनताको निगरानीमा रहेकाे बताएका छन्। प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस संसद् आफूहरूको परीक्षाको केन्द्र भएको बताए।

प्रतिनिधि सभाको दोस्रो कार्यकालका लागि नवगठित प्रतिनिधिसभाको अधिवेशनलाई सम्बोधन गर्दै उनले जनताले सशर्त समर्थन गरेर संसदमा पठाएको कुरा नेताहरूले बिर्सिन नहुने पनि उल्लेख गरे।

‘हामी भर्खरै जन निर्वाचित भएका छौं। तर जनताको हामीमाथिको समर्थन सशर्त छ,’ उनले भने, ‘हामी सुशासन दिन सक्छौं कि सक्दैनौं? जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौं कि सक्दैनौं?’

‘यो संसद् हाम्रो परीक्षाको केन्द्र हो। जनताले हामीबाट असाधारण संकल्पको अपेक्षा गरेका छन्। हामीले बिर्सन हुँदैन, हामी निरन्तर जनताको निगरानीमा छौं,’ उनले थपे।

परम्परागत संसदीय अभ्यास र राजनीतिले मात्रै अब जनतामाझ फर्कन सक्ने अवस्थामा नरहेकाे उनले बताए।

पुष २५, २०७९ सोमबार १४:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।