नवगठित प्रतिनिधि सभाको पहिलो बैठक जारी, राष्ट्रिय सभा बैठक पनि सुरु

नवगठित प्रतिनिधि सभाको पहिलो बैठक जारी, राष्ट्रिय सभा बैठक पनि सुरु

काठमाडौं: गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि गठन भएको प्रतिनिधि सभाको पहिलो बैठक आज सुरु भएको छ। दिउँसो १ बजे बैठक सुरु भएको हो।

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक सुरु भएको हो।

बैठकको प्रारम्भमा ज्येष्ठ सदस्य जबराले सङ्घीय संसद्को अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए। साथै उनले प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयको पत्रको व्यहोरा पढेर सुनाए।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका ८९, एमालेका ७९, माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टी नेपालका १२, एकीकृत समाजवादीका १०, जनमत पार्टीका ६, लोकतान्त्रिक समाजवादी पार्टीका चार, नागरिक उन्मुक्ति पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीका एक/एक तथा स्वतन्त्र पाँच सांसद छन्।

यस्तै राष्ट्रिय सभाको बैठक पनि सुरु भएको छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रिय सभा बैठक सुरु भएको हो।

पहिलो बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्घीय संसद्को बैठक आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाएका थिए।

यस्तै उनले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति र मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराएका थिए।

पुष २५, २०७९ सोमबार १३:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।