बैंक अफ काठमाण्डुसँग मर्ज गरेपछि देशकै ठूलो बैंक बन्यो ग्लोबल आईएमई, कुल पुँजी ५७ अर्ब
काठमाडौं: ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुबीचको एकीकृत कारोबार आजबाट सुरु भएको छ। एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अर्थतन्त्र गतिशील बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री दाहालले आफ्नो सरकार अर्थतन्त्रप्रति गम्भीर भएको र मन्त्रिपरिषद्को पहिलो निर्णय पनि अर्थ व्यवस्था सुदृढ गर्न सम्बन्धमा गरेको बताए। उनले अर्थमन्त्री र गभर्नरसँग बसेर समस्या समाधानका उपाय खोज्न थालेको पनि बताए।
यता मर्जरपछि ग्लोबल आईएमई बैंक देशकै ठूलो बैंक बनेको छ। अब बैंकको कुल पुँजी ५७ अर्ब पुगेको छ भने चुक्ता पुँजी ३५.७७ अर्ब रहेको छ। यस्तै कुल निक्षेप चार सय अर्ब र कुल कर्जा तीन सय ७९ अर्बभन्दा बढी रहेको छ।
यस्तै ग्लोबल आईएमईको कुल शाखा कार्यालय अब तीन सय ६५ पुगेको छ। एटीएम सङ्ख्या तीन सय ६७ पुगेको छ।
ग्राहक सङ्ख्या पनि अब ४० लाख हाराहारीमा रहेको छ भने दुई सय ८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीन वटा विदेशस्थित सम्पर्क कार्यालय रहने भएको छ।
ग्लोबल आईएमईले हालसम्म २१ वटा बैंक तथा वित्तीय संस्थाहरूलाई गाभिसकेको छ। नयाँ बैंकको सीईओ रत्नराज बज्राचार्य हुनेछन्।
पुष २५, २०७९ सोमबार १२:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।