गण्डकीको मुख्यमन्त्री बन्दै एमालेका खगराज अधिकारी, पृथ्वीसुब्बा गुटको रोक्ने प्रयास निरर्थक

गण्डकीको मुख्यमन्त्री बन्दै एमालेका खगराज अधिकारी, पृथ्वीसुब्बा गुटको रोक्ने प्रयास निरर्थक

पोखरा: केन्द्रमा शीर्ष नेतृत्त्वबीच भएको सहमतिअनुसार गण्डकी प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको छ। आज दोस्रो ठूलो दलको तर्फबाट एमालेका संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री बन्दैछन्।

अधिकारी एमालेका संगठन विभाग प्रमुख समेत हुन्।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज ४ बजेसम्म सरकार गठनको लागि आह्वान गरेकाले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री बन्न एमालेका अधिकारीले माओवादी र राप्रपाका ३२ सांसदको हस्ताक्षरसहित दावी पेश गर्ने कार्यक्रम रहेको छ।

यसअघि स्वास्थ्य र गृहमन्त्री समेत भएका अधिकारीले मुख्यमन्त्री बन्नकै लागि गण्डकी प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका थिए। उनी कास्की १ ‘क’ बाट निर्वाचित भएका हुन्।

अधिकारीलाई पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संसदीय दलको नेता हुनबाट रोक्ने योजना बनाएका थिए। तर, पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्णयमै प्रदेशको मुख्यमन्त्री बन्ने योजनासहित प्रदेशमा झरेका अधिकारीसामु पृथ्वीसुब्बा गुटको केही चलेन।

गण्डकीमा लामो समयदेखि संगठन विभाग प्रमुख खगराज र उपमहासचिव पृथ्वीसुब्बाले गुटगट राजनीति गर्दै आएका छन्।

गण्डकीको संस्थापक मुख्यमन्त्री बनेका पृथ्वीसुब्बा यसपटक पनि प्रदेशमै चुनाव लड्न चाहेका थिए।

दीपक मनाङेले पनि समर्थन गर्ने

६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार बनाउन ३१ सदस्यको समर्थन आवश्यक पर्छ। एमालेको २२, माओवादीको आठ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को दुई सदस्य जोड्दा ३२ सदस्य पुग्छन्।

एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङेले पनि अधिकारीलाई भेटेर विश्वासको मत दिने आश्वासन दिइसकेका छन्। यदि मनाङेको पनि समर्थन भएको अवस्थामा अघिकारीले ३३ मत पाउने छन्।

गण्डकी प्रदेश सभाको ६० सिटमध्ये २७ सिट जितेर नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बने पनि सत्ताबहिर रहने निश्चित भएको छ।

यता, एमालेले मु्ख्यमन्त्री बनाउने गठबन्धनबीच सहमति भएपछि मुख्यमन्त्रीमा दावी गरिरहेका माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमानको चाहना तुहिएको छ। उनले गण्डकीमा २०७४ मा पृथ्वीसुब्बा गुरुङ नेतृत्त्वको सरकारलाई माओवादीले सहयोग गरेकाले यसपटक आफ्नो नेतृत्त्वमा सरकार बन्नुपर्ने दावी गर्दै आएका थिए।

मुख्यमन्त्री एमालेको भागमा परेपछि अब चुमानकै नेतृत्त्वमा माओवादीले सरकारमा जाने तयारी थालेको छ। माओवादीले गण्डकीमा अर्थ वा भौतिकमध्ये एक मन्त्रालय र सभामुख आफ्नो पार्टीले पाउनु पर्ने दावी गरिरहेको छ।

त्यस्तै दुई सांसद रहेको राप्रपा पनि सरकारमा जाने तयारीमा छ। राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ सरकारमा सहभागी हुने बताइएको छ।

पुष २५, २०७९ सोमबार ११:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।