इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नेपाल एयरलाइन्सले उडान भर्ने
काठमाडौं: निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट उडान हुने भएको छ।नेपाल एयरलाइन्सले साप्ताहिक उडान भर्ने भएको हो।
इलाम नगरपालिकाका अनुसार यसबारे सैद्धान्तिक सहमति भइसकेको छ। इलामका नगर प्रमुख केदार थापाले आगामी माघ १ गतेबाट नै नियमित उडानका लागि पहल भइरहेको जानकारी दिए।
यसअघि पनि इलाम नगरपालिकाले पैसा तिने सर्तमा विमानस्थलबाट तारा एयरले उडान भरेको थियो। सम्झौता मिति सकिएसँगै उडान बन्द भएको थियो। ताराले उडान बन्द गरेसँगै इलामबाट उडान भएको छैन।
यस्तै सस्तो मूल्यमा नै उडान गराउन पहल गरिने पनि इलाम नगरपालिकाले जानकारी दिएको छ। यसका लागि उचित मूल्य निर्धारण गर्न नेपाल वायुसेवा निगमले समेत पहल गर्नेमा आफूहरू विश्वस्त रहेको नगर प्रमुख थापाको भनाइ छ।
काठमाडौंबाट करिब एक घण्टाको उडान अवधिमा इलाम उडान गर्न सकिने यसअघि नै तारा एयरले बताएको थियो। विमानस्थलको धावनमार्ग ६७० मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको छ। विमानस्थलको घेराबारा र टर्मिनल भवन निर्माणका लागि रकम विनियोजन भइसकेको जनाइएको छ।
सो विमानस्थल सञ्चालन हुनसके इलाम मात्र नभएर पाँचथर, तेह्रथुम र ताप्लेजुङसम्मका यात्रुले सेवा पाउने छन्। साथै नजिक रहेको भारतका विभिन्न क्षेत्रबाट समेत काठमाडौं उडानका लागि यात्रु आउन सक्नेछन्।
पुष २५, २०७९ सोमबार ०९:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।