नवगठित प्रतिनिधि सभाको पहिलो बैठक बस्दै, यी हुन् कार्यसूची

नवगठित प्रतिनिधि सभाको पहिलो बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौं: मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट गठित प्रतिनिधि सभाको पहिलो बैठक आज बस्दैछ। संसदको पहिलो अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ।

आजको संसद् बैठकको कार्यसूचीमा प्रतिनिधि सभाका ज्येष्ठ सदस्यले (सभामुख चयन नभएकाले) राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्। प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरा हुन्।

यस्तै जबराले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रहरूको व्यहोरा समेत पढेर सुनाउने छन्।

यस्तै नेपालको संविधानको धारा १०४ बमोजिम प्रतिनिधि सभाबाट सभाको नियमावली नबनाएसम्मको लागि प्रतिनिधि सभा नियमावली, २०७५ बमोजिम कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि उनले प्रस्तुत गर्नेछन्।

यस्तै सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न प्रतिनिधि सभा सदस्यहरूको मनोनयन हुनेछ। आजैको बैठकमा अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सांसदहरूले आ-आफ्नो मन्तव्य राख्नेछन्।

आजको बैठकमा शोक प्रस्ताव हुने समेत कार्यसूची रहेको छ। मैयाँदेवी श्रेष्ठको ९४ वर्षको उमेरमा २०७९ साल कात्तिक ६ गते भएको निधनप्रति शोक प्रकट गर्ने कार्यसूची छ। श्रेष्ठ नेपाली कांग्रेसबाट वि.सं. २०४८ सालको संसदीय निर्वाचनमा गोरखा जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित सदस्य तथा वि.सं.२०५६ सालको राष्ट्रिय सभा सदस्यमा निर्वाचित एवं व्यवस्थापिका-संसद २०६३/६४ को सदस्य रहेकी थिइन्।

यस्तै तत्कालीन एकीकृत नेकपा माओवादीबाट २०६४ सालको संविधान सभा निर्वाचनमा ओखलढुङ्गा क्षेत्र नं. २ बाट निर्वाचित सदस्य बालकृष्ण ढुङ्गेलको ५३ वर्षको उमेरमा २०७९ साल कात्तिक २२ गते भएको निधनप्रति शोक प्रकट गरिनेछ।

नेपाली कांग्रेसबाट २०७० सालको संविधान सभा निर्वाचनमा समानुपातिक सदस्यको रूपमा निर्वाचित नेता झुलबहादुर आलेको ७२ वर्षको उमेरमा २०७९ साल मंसिर ९ गते निधन भएकोमा उनको निधनप्रति शोक प्रकट गर्ने पनि कार्यसूचीमा उल्लेख छ।

पुष २५, २०७९ सोमबार ०७:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।