भक्तपुर जिल्ला प्रशासनमा पनि टाइम कार्ड, १५ मिनेटमै सेवा

भक्तपुर जिल्ला प्रशासनमा पनि टाइम कार्ड, १५ मिनेटमै सेवा

काठमाडाैंः जिल्ला प्रशासन कार्यालय भक्तपुरले सेवाग्राहीलाई प्रदान गर्ने सेवामा सहजता ल्याउन टाइम कार्ड अर्थात् समय तालिका लागु गरेकाे छ। अब नागरिकतादेखि राहदानीसम्मका कुनै पनि सेवा लिनका लागि १५ देखि ४५ मिनेटभन्दा बढी समय नलाग्ने बताइएकाे छ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माका अनुसार सेवाग्राहीलाई छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्न टाइम कार्ड लागु गरिएकाे हाे। अब जिल्ला प्रशासनले प्रवाह गर्ने सेवामा सेवाग्राहीको गुनासो नरहनेगरि प्रत्येक सेवालाई मिनेट नै तोकेर सेवा प्रवाह गर्न उनले बताइन्।

शर्माका अनुसार नयाँ नागरिकता लिन आउने सेवाग्राहीलाई ४५ मिनेटभित्रै नागरिकता उपलब्ध गराइने छ। त्यसैगरि, संस्था नवीकरणका लागि ३० मिनेट, जनजाति, दलित, मधेसीलगायत सिफारिसका लागि १५ मिनेट, राहदानीको इनरोलमेन्टका लागि ३० मिनेट र राहदानी वितरणका लागि १५ मिनेटको समय तोकिएको छ।

त्यस्तै, राष्ट्रिय परिचयपत्रको विवरण दर्ताका लागि ३० मिनेट, राष्ट्रिय परिचयपत्र वितरणका लागि १५ मिनेट,  मुद्दा पेसी र तारिखका लागि १५ मिनेट, नाबालक प्रमाणपत्रका लागि ४५ मिनेटसँगै मुद्दा फैसला बढीमा ६० दिनभित्र गरी सक्ने गरी समय निर्धारण गरिएको बताइएकाे छ। 

पुष २४, २०७९ आइतबार २१:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।