सिपिङ तालिमको आवरणमा मलेसिया, मकाउ पठाउँछु भन्दै ठगी, सञ्चालक फरार, विभागको अनुसन्धान शंकामा
काठमाडौं : मलेसिया, मकाउ, लिथोनिया लगायतका देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका-३, बाँसबारीमा रहेको ‘सी स्टार सिपिङ सर्भिस एन्ड ट्रेनिङ सेन्टर’मा छापा मार्दा झन्डै एक हजार वटा राहदानी फेला परेका छन्।
वैदेशिक रोजगारीमा पठाउनेभन्दै प्रतिव्यक्ति १ लाखदेखि ५ लाख रुपैयाँसम्म पैसा लिएर पनि नपठाएको सूचनाको आधारमा वैदेशिक रोजगार विभागले सो सेन्टरको कार्यालयमा विभागले छापा मारेको थियो।
प्रहरीसहित छापा मार्न गएको विभागको टोलीले कार्यालयमा ९ सय ९७ वटा राहदानी फेला पारेपछि चार जना कर्मचारीलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएका कर्मचारी प्रहरी हिरासतमा छन्। विभागले अनुसन्धान अगाडि बढाइरहेको दाबी गरेको छ।
सेन्टरको सञ्चालक लालबहादुर लामा र सिइओ रोशन न्यौपाने रहेको खुलेको छ। तर विभागले उनीहरूलाई पक्राउ गरेको छैन।
एक पीडितले लिथोनियामा वैदेशिक रोजगारीमा पठाउने भन्दै पाँच लाख मागेर एक लाख लिए पनि नपठाएको भन्दै विभागमा उजुरी दिएपछि विभागको टोली छापा मार्न गएको थियो। पानीजहाज कम्पनीमा काम लगाउने भन्दै पैसा मागेपछि ती पीडितले कुमारी बैङ्कमा रहेको सो सेन्टरको खातामा एक लाख रुपैयाँ जम्मा गरे।
कात्तिकमा पैसा जम्मा गरे पनि नपठाएपछि उनी विभागमा पुगेका थिए। सोही उजुरीको आधारमा विभागले छापा मार्दा ९ सय ९७ वटा राहदानी फेला पार्यो। राहदानी र सो समयमा कार्यालयमा रहेका चार कर्मचारीलाई पक्राउ गर्यो।
विभागमा मलेसियाको पानी जहाज कम्पनीमा काममा पठाउने भनेर अर्का पीडितसँग ४ लाख ४० हजार रुपैयाँ लिएको समेत खुलेको छ। भिसा आयो भनेर ती पीडितलाई सञ्चालक लामाले कोठाको सामान बेच्न लगाए। उनी सामान बेचेर मलेसिया जाने दिन पर्खिएर बसे। तर भिसा आउनुको साटो लामा सम्पर्कहीन भए।
विभाग स्रोतका अनुसार सो कम्पनी विभागमा समेत दर्ता छैन। उसले वैदेशिक रोजगारीमा पठाउने अनुमति समेत लिएको छैन। सेन्टरले मर्चेन्ट नेभी सम्बन्धी तालिम दिने गरेको थियो। तालिम लिन आउनेहरूलाई रोजगारको प्रलोभनमा पारेर ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
पैसा उठाइदिएर छाड्छ कि कारबाही पनि गर्छ!
पछिल्लो समय वैदेशिक रोजगारीबारे विभागले गर्ने अनुसन्धान शङ्कास्पद देखिएकाले सो संस्थाका सञ्चालनविरुद्ध विभागले अगाडि बढाउने कारबाही प्रक्रिया शंकामा देखिन्छ। यस अगाडि मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको सूर्य कर्पोरेसनको कार्यालयमा छापा मारेर प्रहरीले ८० वटा पासपोर्ट बरामद गरेको थियो।
ट्राभल्स एजेन्सीको आवरणमा सो कम्पनीले सिजनल भिसा लगायतको प्रलोभन देखाएर बेलायत र जापान लैजाने भनेर ठगी गरेको पर्याप्त प्रमाण विभागले पाए पनि पीडितको पैसा फिर्ता गरेको भन्दै सो प्रालीलाई उन्मुक्ति दिएको थियो।
विभागले मङ्सिर २३ गते प्रालीको डिल्लीबजारमा रहेको कार्यालयमा छापा मार्दा पीडितहरूले संस्थाका वासुदेव लामिछाने र समीर बलामीले जापान पठाउँछु भनेर पैसा लिएर नपठाएको बताएका थिए। विभागले कर्मचारीलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढायो।
पछि पीडितको पैसा फिर्ता दिएको र सो संस्था ट्राभल्स एजेन्सीको रूपमा दर्ता रहेकाले कारबाहीको जिम्मा पर्यटन मन्त्रालयको रहेको भन्दै पन्छिएको थियो।
विभागका महानिर्देशक उमाकान्त आचार्यलाई उकेराले कर्पोरेसनमाथि किन अनुसन्धान नभएको भन्ने जिज्ञासा राख्दा उनले भने, ‘यो ट्राभल एजेन्सी रहेछ। पर्यटन मन्त्रालय अन्तर्गत पर्ने भएकोले मैले थप अनुसन्धान गर्न निर्देशन दिन सकिन। पीडितहरूले यहाँ उजुरी दिएकाले उनीहरूको पैसा उठोस् पीडित नफसुन् भनेर पैसा उठायौँ। र अरू पासपोर्ट पनि फिर्ता दियौँ।’
विभागले कारबाहीबाट उन्मुक्ति दिएपछि सफाइ पाएको भन्दै सो संस्थाले नेपाल चलचित्र विकास बोर्डसँग दुबईमा चलचित्रसँग सम्बन्धित कार्यक्रम गर्न सम्झौता गरिसकेको छ। सम्झौताको आधार विभागको सफाइलाई बनाएको थियो बोर्डले। सो कर्पोरेसन यस अगाडि पनि जापान पठाउने भन्दै ठगीमा संलग्न रहेको अडियो संवाद सार्वजनिक भएका थिए।
पुष २४, २०७९ आइतबार २०:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।