प्रधानमन्त्रीमा समर्थन गरेका १२ सांसद पछि हटे, प्रचण्डलाई विश्वासको मत पुर्याउनै सङ्कट
काठमाडौं : एक सय ६९ जनाको समर्थन देखाएर प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनु अगाडि १२ मत गुमाएका छन्।
उनी प्रधानमन्त्री हुने बेलामा समर्थन गरेको २ दल र स्वतन्त्र २ सांसद प्रतिपक्षमा बस्ने भएपछि समर्थन गर्ने १२ सांसद घटेको हो।
६ सिट रहेको जनमत पार्टी र ४ मत रहेको नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा बस्ने भएको छ। रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने निर्णय गरेको नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबिच मधेस आन्दोलन लगायतका विषयमा कार्यगत सहकार्य गर्न आइतबार सहमति भएको थियो।
उता स्वतन्त्र सांसद रहेका अमरेशकुमार सिंह र प्रभु साह समेत विपक्षी सिटमा बस्ने भएका छन्। एमालेमा रहेका साहले निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले हालै आफ्नै अध्यक्षतामा नयाँ दलको घोषणा गरेका छन्।
उता कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बन्दै विजयी बनेका अमरेश कुमार सिंह समेत प्रतिपक्षमा बस्ने तयारीमा छन्।
प्रचण्डलाई प्रधानमन्त्री बनाउने समयमा यी दुवै सांसदले समर्थन गरेका थिए। उनीहरूको सङ्ख्या समेत जोडेर प्रचण्डको पक्षमा एक सय ६९ पुगेको थियो।
यो पनि : एक सय ८० सांसदको समर्थन हुँदा पनि विश्वासको मतमा प्रचण्ड विश्वस्त हुन नसक्नुका तीन कारण
बिचमा एमालेमा एक स्वतन्त्र सांसद प्रवेश गरिसकेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीको आइतबार बसेको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ। यसले सरकारको पक्षमा १५८ सांसदको समर्थन देखिन्छ।
तर राष्ट्रिय प्रजातन्त्र पार्टी अनि जनता समाजवादी पार्टीले सरकारलाई समर्थन गर्नेबारे अझै निर्णय गरिसकेका छैनन्। यी दुवै दलले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिए तीन दलको मात्र बहुमत पुग्दैन। प्रचण्ड प्रधानमन्त्रीबाट हट्नेछन्।
पुष २४, २०७९ आइतबार १९:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।