अपाङ्ग नाबालिकाकाे जबरजस्ती करणी मुद्दामा फरार रहेका ७१ वर्षीय तिवारी पक्राउ
पोखराः जबरजस्ती करणी मुद्दामा फरार रहेका ७१ वर्षीय तारानाथ तिवारीलाई प्रहरीले पक्राउ गरेको छ। तिवारीलाई पोखरा महानगरपालिका-२८ माझठानास्थित आफ्नै घरबाट जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो।
२०७६ मा तिवारी अपाङ्गता भएकी नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए। प्रहरीले त्यस समय करणीको अरोपमा जिल्ला अदालत कास्कीमा पेस गरेपनि प्रमाण नपुगेको भन्दै २०७७ असोज २७ गते जिल्ला अदालत कास्कीले उनलाई सफाइ दिएको थियो।
त्यसपछि, याे मुद्दा उच्च अदालतमा पुनरावेदन गरिएको थियो। जिल्ला अदालतबाट सफाइ पाएको मुद्दालाई उच्च अदालत कास्कीले उल्टाएर गत वैशाख १४ गते १९ वर्ष ३ महिना कैद, १० हजार जरिवाना र पीडितलाई दुई लाख क्षतिपूर्ति सहितको सजाय तोकेको थियो।
उच्चको याे फैसालासँगै उनी फरार रहेका थिए। पक्राउ परेसँगै उनलाई अदालतमा पेस गरी कैद भुक्तानीका लागि कारागार पठाइसकेको प्रहरीले जानकारी दिएको छ।
पुष २४, २०७९ आइतबार १८:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।