एमाले नेता हिक्मतकुमार कार्की बने प्रदेश १ को मुख्यमन्त्री

एमाले नेता हिक्मतकुमार कार्की बने प्रदेश १ को मुख्यमन्त्री

काठमाडाैंः एमाले नेता हिक्मतकुमार कार्की प्रदेश १ को मुख्यमन्त्री बनेका छन्। ६० जना प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका कार्कीलाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेकाे प्रदेश १ संसदीय दलका नेता कार्कीसँग एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदको समर्थन छ।

प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेस गर्न समय दिइएको थियो।

काे हुन्र कार्की?

एमाले स्थायी कमिटी सदस्यसमेत रहेका कार्की पार्टी अध्यक्ष केपी ओली निकटका नेता हुन्। विद्यालयदेखि नै राजनीति थालेका उनी झापाकाे जनता माध्यमिक विद्यालयमा पढ्दा अनेरास्ववियुका नेता थिए।

उनले राजनीतिक जीवनकाे लामाे सयम विद्यार्थी नेताकाे रुपमा नै बिताए। यस यात्रामा नेपाल ल क्याम्पसको स्ववियु सभापति हुँदै उनी २०५५ सालमा अखिलको अध्यक्ष बने।

यसपछि २०७१ मा सम्पन्न एमालेको नवौं महाधिवेशनबाट उनी पार्टीकाे केन्द्रीय सदस्य बनेका थिए। उनी २०७४ सालको प्रदेश सभा निर्वाचनमा झापा जिल्लाबाट प्रत्यक्ष निर्वाचित भएका थिए। उनी लगातार याे वर्ष दाेस्राे पटक निर्वाचित भएका हुन्।

एमालेको दशौं महाधिवेशनले केन्द्रीय सदस्यमा निर्वाचित गरेसँगै उनी स्थायी कमिटी सदस्य बनेका थिए। कार्की हाल पार्टीको प्रदेश सह-इन्चार्ज हुन्।

यसअघि शेरधन राईकाे नेतृत्वमा बनेकाे पहिलो प्रदेश सरकारमा उनले आन्तरिक मामिला तथा कानुनमन्त्रीकाे जिम्मेवारी पाएका थिए।

पुष २४, २०७९ आइतबार १८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।