६५ वर्षमा पनि बनेन कान्तिराजपथ, सरकारकाे पहिलो प्राथमिकतामा रहेको योजनाकाे बेहाल

६५ वर्षमा पनि बनेन कान्तिराजपथ, सरकारकाे पहिलो प्राथमिकतामा रहेको योजनाकाे बेहाल
तस्बिरः गाेरखापत्र

काठमाडाैंः काठमाडौं उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो मार्गका रुपमा रहेको कान्ति राजपथ बनाउन सुरु गरेकाे ६५ वर्ष भैसक्याे। याे राजपथकाे ट्रयाक खाेल्ने काम राजा महेन्द्रले विसं २०१४ सालमा नै गरेका थिए। सुरुमा टिकाभैरब- हेटौँडा सडक नाम दिइएकाे यसलाई पछि कान्ति राजमार्गकाे नाम दिइएकाे थियाे।

तर यति लामाे समय बितिसक्दा पनि ९० किमी लम्बाइको याे राजमार्गकाे अझै कतिपय सडक खण्ड निर्माणका लागि ठेक्कामा जान बाँकी नै छ। योजनाका प्रमुख सुरेश न्यौपानेका अनुसार मकवानपुरतिर साढे तीन किमी बाँकी र ललितपुरतर्फ झण्डै १० किमी सडक कालोपत्र हुन बाँकी छ।

हाल याे याेजना सरकारकाे पहिलो प्राथमिकताको योजना (पी वान) मा परेकाे छ।

पहिले राजमार्ग हेटौँडाबाट टिकाभैरब, चापागाउँ हुँदै सातदोबाटोसम्म हुने गरी रेखाङ्कन भएको थियो। तर चापागाउँ–सातदोबाटो सडक विस्तार हुन नसकेपछि यसको रेखाङ्कन परिवर्तन गरेर टिकाभैरबबाट भैँसेपाटी हुँदै नख्खु पुग्ने भएको छ।

टिकाभैरबबाट हेटौँडाको बुद्धचोकसम्म ७९ किमी सडक खण्ड योजनाले निर्माण गरिरहेको छ। त्यस्तै, काठमाडौँ उपत्यकाभित्र पर्ने टिकाभैरबबाट नख्खु चोकसम्मकाे सडक भने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विस्तार गरिरहेको छ।

पुष २४, २०७९ आइतबार १७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।