लुम्बिनी बन्याे नेपाल टी-ट्वान्टी लिगकाे फाइनलमा पुग्ने पहिलाे टिम
काठमाडाैंः लुम्बिनी अल स्टार्स पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगकाे फाइनलमा पुग्ने पहिलाे टिम बनेकाे छ। जनकपुर रोयल्सलाई ६ रनले पराजित गर्दै लुम्बिनीले लिगकाे अन्तिम दुईमा स्थान सुरक्षित गरेकाे हाे।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएकाे पहिलाे क्वालिफायर खेलमा टस हारेर पहिले ब्याटिङ गरेकाे लम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो।
लुम्बिनीका लागि इशान पाण्डेले सर्वाधिक ३८ र अनिल शाहले २४ रन बनाएका थिए। बलिङतर्फ जनकपुरका जितेन्द्र मुखिया, असन प्रियरन्जन र सोमपाल कामीले दुई/दुई विकेट लिए।
जवाफमा १४४ रनको लक्ष्य पछ्याएको जनकपुर सात विकेट गुमाउँदै १३७ रनमा समेटियो। जनकपुरका लागि समिउल्लाह शिनवरीले सर्वाधिक ४५ र पवन सर्राफले अविजित ३० रन बनाए पनि जितका लागि पर्याप्त भएन।
बलिङतर्फ लुम्बिनीका दिपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले दुई/ दुई विकेट लिए। जितपछि लुम्बिनी फाइनलमा पुगेकाे छ भने हार भाेगेकाे जनकपुरसँग अझै एक माैका छ।
अब सोमबार हुने एलिमिनेटर खेलमा विराटनगर सुपर किंग्स र काठमाडौं नाइट्स भिड्ने छन्। जनकपुरले यसै खेलकाे विजेतासँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ।
पुष २४, २०७९ आइतबार १७:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।