निर्मला कुर्मीकाे न्यायकाे लागि लालटिन आन्दोलन, गृहमन्त्री भन्छन्- आन्दोलन छाडेर अनुसन्धानमा सहयोग गर्नुस्
काठमाडाैंः गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माइतीघरमा आन्दोलन गरिरहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन्। यस घटनामा सरकारले चासो नदेखाएको भन्दै अधिकारकर्मीहरूले आइतबार माइतीघर मण्डलमा लालटिन बालेर विरोध प्रदर्शन गरेका हुन्।
यसपछि, लामिछानेले सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विशेष टोली परिचालन गरी छानबिन गरिरहेको जानकारी दिए। उने सबै धर्ना र आन्दोलनका गतिविधि छोडेर प्रहरीको छानबिनमा सहयोग गर्न आग्रह समेत गरे।
आफू मन्त्री भएपछि दुई पटक टेलिफोन गरी धर्नामा बसेकी रुबी खानलाई याे विषयमा सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सहयोग गर्न आग्रह गरेको उनले बताए।
यसअघि गत सोमबार गृहमन्त्री लामिछानेले गृह सचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफल गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएका थिए।
पुष २४, २०७९ आइतबार १५:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।