खाद्य वैज्ञानिक र खाद्य उद्योगीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न, नेफोस्टा अध्यक्षमा पोखरेल चयन

खाद्य वैज्ञानिक र खाद्य उद्योगीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न, नेफोस्टा अध्यक्षमा पोखरेल चयन

काठमाडौं: नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघ (नेफोस्टा)को आयोजना तथा बलियो नेपाल र केएल दुगड ग्रुपको सहकार्यमा खाद्य वैज्ञानिक र खाद्य उद्योगीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपालगञ्ज उपमहानगरपालिका-१ स्थित द होटेल ग्यालेक्सी दरबारमा शनिबार अन्तरक्रिया सम्पन्न भएको थियो।  

नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघका अध्यक्ष डा. अतुल उपाध्यायको सभापतित्वमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खाद्य अनुसन्धान केन्द्र, नार्कका कार्यालय प्रमुख तथा वरिष्ठ वैज्ञानिक डा. रोमन कार्की थिए। यस्तै विशेष अतिथिमा केएल दुगडका प्रमुख कार्यकारी अधिकृत प्रदीपकुमार छाझेड एवं अथितिहरूमा एसके डेरी, नेपालगञ्जका संचालक सरोजप्रसाद पाण्डे, हितेश खाद्य उद्योगका मेनेजर बैजेन्द्र बेंगानी रहेका थिए।

कार्यक्रममा नेफोस्टाका केन्द्रीय महासचिव प्रविन ओझा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्ज, बाँकेका निमित्त कार्यालय प्रमुख अमितभूषण सुमन, खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, नेपालगञ्जका कार्यालय प्रमुख सन्तोष दाहाल, जडिबुटी संघ, बाँकेका जिल्ला अध्यक्ष, डेरी संघ बाँकेका अध्यक्ष, चौधरी ग्रुप, क्रिस्टिलो पानी, एमए सप्लायर आदिबाट उद्योगी व्यवसायी, नेफोस्टाका सदस्य खाद्य प्राविधिकहरू, विभिन्न सञ्चारमाध्यामका पत्रकार लगायत ५० जनाको उपस्थिति थियो।

कार्यक्रमको संचालन खाद्य प्राविधिक ज्योति आचार्यले गरेका थिए। स्वागत मन्तब्य नेफोस्टा तदर्थ समितिका संयोजक खाद्य प्राविधिक सन्तोष दाहालले गरेका थिए।

कार्यक्रममा पहिलो कार्यपत्र नेफोस्टाका अध्यक्ष डा. अतुल उपाध्यायले प्रस्तुत गरेका थिए। उनले नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको इतिहास, वर्तमान तथा भविष्यका योजनाको जानकारी दिँदै खाद्य विज्ञान तथा प्रविधिको विकास सम्वर्द्धन र समुचित प्रयोगद्वारा मानव समुदायको हित, उत्थान तथा समुन्नतिको निमित्त योगदान दिने लक्ष्यका साथ खाद्य वैज्ञानिक तथा खाद्य उद्योगीबीच सहकार्य गर्ने बुँदा प्रस्तुत गरे।

कार्यक्रमको दोस्रो प्रस्तुति खाद्य प्राविधिक अमितभूषण सुमनले प्रस्तुत गरे। उनले खाद्य उद्योगले झेल्नु परेको अनेक खाद्यका झुटा हल्लाबारे चर्चा गरे। उनले बजारमा बेला-बेला प्लास्टिकको चामल, प्लास्टिक हालेको दूध, प्लास्टिक भएको आटा, मैदा, धाराको पानी नै मिनिरल वाटर भनेर बेच्ने गरेको जस्ता अफवाहले खाद्य व्यवसायी, नियामक निकाय, उपोभोक्ता सबैलाई हैरान हुने वातारण बन्ने गरेकोले नेफोस्टाले यस्ता कुराहरूमा खुला छलफल मार्फत निकास निकाल्ने प्रयास गरेको बताए। 

कार्यक्रममा ल्याबमा झैँ खाद्य प्राविधिकद्वय गौरी हमाल र शिवराज शर्माले पिठोबाट ग्लुटिन नामको प्रोटिन हेन्ड वाशिंग मेथोडबाट निकालेर उक्त ग्लुटिन गहूँको मुख्य आकर्षण रहेको र त्यही प्रोटिनको कारण बेकिङ गरी रोटी, ब्रेड, डोनट आदी बेकरी पदार्थ बनाउन सहयोग पुग्ने बताए।

यस्तै कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरूले यस्ता कुराले अनावश्यकरूपमा आफ्नो समय खेर जाने, मोरल डाउन हुने भएकोले उपोभोक्ता माझ यस्ता कुरा गलत हुन् भनेर बुझाइदिन आग्रह गरे। 

साथै खाद्य ऐन चाडै संशोधन गरी अधिक खाद्यवस्तुको स्तर निर्धारण गरिदिन, जडीबुटीको प्रशोधन भन्नाले के बुझिन्छ प्रष्ट रूपमा कानूनमा लेख्न, परीक्षणको दयारा फराकिलो पार्न आग्रह गरे।

कार्यक्रमका प्रमुख आथिति डा. रोमन कार्कीले खाद्य प्रविधिको भविष्य राम्रो भएको भन्दै विश्वमै भीमकायरूपमा बढिरहेको जनसंख्यालाई भोकमरीबाट जोगाउन इनोभेसन, रिचर्च तथा प्रविधि प्रयोग गर्नुपर्ने र त्यसमा खाद्य प्रविधिकको महत्त्वपूर्ण भूमिका हुने बताए। 

कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै नेफोस्टा अध्यक्ष डा. अतुल उपाध्यायले आफू केही राम्रो गर्न यो पदमा आएको र खाद्य प्राविधिक र वैज्ञानिकको हकहितका लागि काउन्सिल, उपोभोक्ता सचेतनाको लागि साझा सवाल लगायत कार्यक्रम अघि बढाउन लागेको बताए।

खाद्य वैज्ञानिक तथा खाद्य उद्योगीबीच सहकार्य गर्न सकिने विभिन्न विकल्पहरू पहिल्याएर कार्यक्रमको निचोड प्रस्तुत गर्दै समापन गरिएको उक्त कार्यक्रम पश्चात नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको नेपालगन्ज च्याप्टर गठन गर्ने उद्देश्यले सोही सभाहलमा उक्त संस्थाको साधारणसभा आयोजना गरिएको थियो। 

खाद्य प्राविधिक मानबहादुर कटुवाल निर्वाचन समिति सभापति रहेको समितिले साधारण सभाको सर्वसम्मतिमा एवं नेफोस्टा केन्द्रीय समितिको रोहवरमा पदाधिकारीहरू चयन गरेको छ।

जसमा सन्तोष पोखरेल अध्यक्ष चयन भएका छन्। यस्तै सचिवमा पदम बराल चयन भएका छन्। कोषाध्यक्षमा सुनिता खुलाल र सदस्यहरूमा विवेककुमार सुवेदी, गौरी हमाल, पूजा शर्मा, राजेशकुमार चौधरी रहेका छन्।

नेफोस्टाका नवनिर्वाचित अध्यक्ष सन्तोष पोखरेल लामो समयदेखि नेपालगञ्जमा डेरी संचालन गर्दै आएका खाद्य प्राविधिक एवम् व्यवसायी हुन्।

नवगठित समितिलाई तदर्थ समिति र केन्द्रीय समितिद्वारा खादा, टीका र ब्याच लगाइ जिम्मेवारी हस्तान्तरण गरिएको थियो।

पुष २४, २०७९ आइतबार १४:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।